मेघराज रिस्मेली, जापान ।
जापानमा एक नेपालीको मृत्यु भएको छ । खोटाङ जिल्लाको सिम्पानी–२ घर भएका २९ वर्षीय सजिन्द्र प्रधानको मृत्यु भएको हो ।
जापानको आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका उनलाई एक हप्ताअघि आफ्नै कोठामा सुतेको अवस्थामा श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको र उपचारकै क्रममा मंगलबार बिहान ७ः३० बजे निधन भएको भएको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा समाजसेवी दिपक कार्कीले जानकारी दिनुभयो ।
विद्यार्थी भिसामा जापान आइ अध्ययन पश्चात हाल हाकेन कम्पनीमा कार्यरत मृतक सजिन्द्र श्रीमती भावना नेपालसँगै जापानमा बस्दै आएका थिए ।
नेपालमा बुवाआमासहितको परिवार रहेको र उनीहरूको आग्रहमा प्रधानको शव नेपाल पठाउन गरेको आग्रह अनुसार सम्पूर्ण व्यवस्था मिलाई मंगलबार नै शव पठाएको कार्कीले बताउनुभयो ।
‘एक हप्ताअघि घरमै सुतेको बेला श्वास प्रश्वासमा समस्या आइ बिरामी परेको जानकारी पाउना साथ भाइलाई अस्पताल लगेका थियौँ’ कार्कीले भन्नुभयो, ‘उपचार कै क्रममा उनलाई आज अस्पतालले मृत घोषणा गर्यो । परिवारको आग्रहमा आवश्यक प्रक्रिया पुरा गरि शवलाई नेपाल पठाइएको छ ।’
सजिन्द्रको उपचारको क्रममा र शव नेपाल पठाउन एनआरएनए जापान र नागोया क्षेत्रीय समितिले महत्वपूर्ण सहयोग गरेको कार्कीले बताउनुभयो ।

