चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन् । गठबन्धनकी उम्मेदवार रेनुले नेकपा एमालेका विजय सुवेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै विजयी बनेकी हुन्।
मतगणनाको अन्तिम परिणामअनुसार रेनुले ५२ हजार ३० मत ल्याइन्। विजयले ३९ हजार ५ सय ८१ मत पाए। रेनुका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए।
रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन्। विजय एमाले(राप्रपाबीचको गठबन्धनका उम्मेदवार थिए।
रेनु भरतपुर महानगरको निवर्तमान प्रमुखसमेत हुन्। २०७४ मा भएको निर्वाचनमा उनले एमालेकै देवी ज्ञवालीलाई जम्मा २ सय ३ मतान्तरले मात्रै हराएकी थिइन्।
यस्तै, उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्।
अधिकारीले २२ हजार ४ सयको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन्। अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा गुरुङले ३० हजार ६ सय १२ मत पाइन्।