काठमाडौं । कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक छाप्न अझै कम्तिमा डेढ महिना लाग्ने भएको छ । नयाँ शैक्षिक सत्र एक साता अघिदेखि नै सुरु भएपनि किताब छाप्न डेढ महिना जति लाग्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
कागजको अभाव भएको भन्दै अझै ३५ लाख पाठ्यपुस्तक छाप्न बाँकी रहेको जनक शिक्षाको भनाई छ ।
स्थानीय चुनावको मतपत्र छाप्न पाठ्यपुस्तक छपाइको काम रोकेको जनक शिक्षा सामग्री केन्द्रका अनुसार विद्यालय तहका करिब ३५ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ । अहिलेसम्म एक करोड ५० लाखको हाराहारीमा मात्रै पाठ्यपुस्तक छपाइ भएको जनक शिक्षाले जानकारी दिएको छ।
कक्षा ४, ७ र ९ मा यो शैक्षिक सत्रदेखि नयाँ पाठ्यपुस्तक लागू भएका छन् । तर दुर्गमका सबै विद्यालयमा गत वर्ष पठनपाठन भएकै पुरानै पाठ्यपुस्तक प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ ।
अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन अध्यापन कसरी गर्ने भन्ने अन्योल छाएको छ। अझै ३ महिना विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको पालिकाका शिक्षा शाखा प्रमुखहरू बताउँछन् ।