काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय चुनावमा चारवटा पालिका प्रमुखमा जीत हासिल गरेको छ । हालसम्म राजमोले ४ प्रमुख र २ उपप्रमुखमा विजय हासिल गरेको छ भने दुई उपप्रमुखमा जित सुनिश्चित गरेको छ ।
बाग्लुङको जैमुनी नगरपालिका र बरेङ गाउँपालिका, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका र प्युठानको मल्लरानी गाउँपालिकामा राजमोले प्रमुख जितेको छ ।
यस्तै, प्यूठानको स्वर्गद्वारी नगरपालिका र प्यूठानकै ऐरावती गाउँपालिकामा उपप्रमुखमा विजयी भएको छ भने मतगणना जारी रहेको बाग्लुङको बडिगार्ड गाउँपालिका र काठेखोला गाउँपालिकामा उपप्रमुखमा अग्रता कायम गरेको छ ।
प्रमुखमा कसको मत कति ?
बागलुङको जैमिनी नगरपालिकामा राजमो नेता नरबहादुर पुन दोब्बरभन्दा भढी मतान्तरले विजयी हुनुभएको छ । पुनले ८ हजार ७५५ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २ हजार ८७३ मत ल्याउनुभएको छ । पुनले आफ्ना प्रतिस्पर्धीभन्दा ५ हजार ८८२ मत बढी ल्याएर विजयी हुनुभएको हो ।
बाग्लुङकै बरेङ गाउँपालिकामा कृष्ण प्रसाद शर्मा ३ हजार ६०१ मत ल्याएर विजयी हुनुभयो । अध्यक्षमा दोहोरिएका शर्माले आफ्ना प्रतिस्पर्धी भन्दा १ हजार ३६९ मत बढी प्राप्त गर्नुभएको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको प्रमुखमा झबिलाल थापाले ८ हजार ३२४ मत प्राप्त गरी विजयी हुनुभयो । त्यहाँ आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ८०० मत बढी प्राप्त गरेर थापा विजय हुनुभएको हो ।
प्युठानको मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का ३ हजार २३८ मतसहित विजयी हुनुभएको हो । खड्काले निकटतम प्रतिस्पर्धीभन्दा ४३६ मतान्तर हासिल गर्नुभएको छ ।