काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत देशभर १७ पालिकाको मतपरिणाम आएको छ। आइतवार बिहानसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ६/६ पालिकामा जित निकालेका छन्। यस्तै, नेकपा माओवादी केन्द्रले तीन पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ ।
एमाले
डोल्पाको शे-फोक्सुन्डो गाँउपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भइसकेका छन्। यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङबाहेक अरुको उम्मेदवारी परेको थिएन।
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भइन्।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देव बहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्।
२०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।
मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्। कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए।
उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाए।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका अध्यक्ष रिङजिन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका हुन्। अध्यक्षमा कांग्रेसका आङ्जेन गुरुङले ५७७ मत मात्रै ल्याएका छन्।
उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी भएकी छन्। कांग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याएकी छन्। गाउँपालिकामा २ हजार ६११ जनसंख्या रहेको छ। कुल मतदाता २ हजार २४४ रहेका छन्।
त्यस्तै एमालेले डोल्पाको शे(फोक्सुन्डो गाउँपालिकमा धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका थिए।
नेपाली कांग्रेस
नाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। उनी १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन्।
खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन्।
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्। लालचनले ७ सय ६० मत ल्याउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका छन्।
२०७४ मा नेकपा एमालेको तर्फबाट आस बहादुर थकाली विजयी भएका थिए।
उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन्। एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन्।
मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। कांग्रेसबाट धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका हुन्। उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरेका छन्।
अध्यक्षमा एमालेका मनबहादुर गुरुङ ६४६ मत प्राप्त गरेका छन्। उपप्रमुख स्वतन्त्रबाट अर्विन गुरुङले ४९६ मत ल्याए।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सरोज कुमार थापा विजयी भएका छन्।
थापाले ६ हजार १६६ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण बहादुर भुसालले ५ हजार ६०२ मत हात पारे।
गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका हुन्।
उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ७ हजार ३ सय २० मत ल्याए ।
यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसकै अमृता देवी कुँवर ८ हजार ६ सय १९ मत ल्याएर विजयी भइन्।
उनलाई एमालेकी रिता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
गन्यापधुराको अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेठी देउवा विजयी भएका हुन्।
नेपाली कांग्रेस बीपीका उम्मेदवार सुरेन्द्र मालीलाई पराजित गर्दै कार्की अध्यक्षमा विजयी भएका हुन्।
माओवादी केन्द्र
माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको छ ।
आयोगका अनुसार पालिकाको अध्यक्षमा नारासिंह रोकाया ७ सय ७० मत ल्याएर विजयी भएका छन्।
यहाँ नेकपा एमालेका हेमबहादुर महतराले ७४६ मत ल्याउँदै पराजित भएका छन्।
यस्तै उपाध्यक्षमा पनि अमरिता बोहरा ७५९ मत ल्याएर विजयी भइन। पराजित एमालेकी चन्द्रावति थापाले ७४९ मत ल्याइन्।
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ।
एकीकृत समाजवादीसँग तालमेल गरेर उठेका माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकालेका हुन्।
दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पराजित गर्दै विजयी भएका हुन्।
एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध भएका थिए। उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए। २०७४ मा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।
डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निर्विरोध भएका थिए। २०७४ मा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए।