रामप्रकाश पुरी
अहिलेको स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चासहितको पाँच दलको गठबन्धन कतिपयलाई अपाच्य भएको छ । त्यो गठबन्धनलाई नेकपा (मसाल)ले पनि समर्थन गरेका कारणले र कांग्रेस लगायतसँग स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चाले गरेको तालमेलको विषयलाई लिएर कतिपयले मसालले वर्गसमन्वयको बाटो लिन थालेको वा त्यो बाटो लिइसकेको भन्ने पनि गरेको पाइन्छ । तर उनीहरू मध्ये कतिपयले एमाले वा राजावादीसित गरिएको चुनावी तालमेललाई भने वर्गसङ्घर्षकै रूपमा पनि बुझ्ने गरेको पाइन्छ । त्यस प्रकारका असन्तुलित टिप्पणी धेरै पहिलेदेखि नै हुँदै आएका छन् । भविष्यमा पनि हुँदै जानेछन् ।
त्यसैले हाम्रो पार्टीको विषयमा कसले के टिप्पणी गर्दछन् ? कस्तो विश्लेषण गर्दछन् ? ती महत्त्वपूर्ण प्रश्न होइनन् । महत्त्वपूर्ण प्रश्न हुन् : पार्टीले गरेका निर्णय देश र जनताको हितमा छन् वा छैनन ? त्यसको कार्यान्वयन प्रभावकारी ढङ्गले हुन्छ वा हुँदैन ? परिणाम के आउँछ ? अहिलेलाई यत्ति नै भनौँ : यिनै प्रश्नको कसीमा राखेर पाँच दलको गठबन्धनमा राष्ट्रिय जनमोर्चाको सहभागिता र त्यो गठबन्धनलाई मसालको समर्थन भएको विषयमा भविष्यमा त्यसको स्वतः मूल्याङ्कन हुने नै छ । त्यसका लागि अलिकति धैर्यता चाहिने छ । त्यसैले अहिले नै आत्तिनु उपयुक्त हुने छैन ।
कुनै संगठन वा पार्टीभित्र भएको शक्तिसङ्घर्ष, गुटबन्दी वा कुनै पनि स्वार्थको क्रियाकलापलाई देशलाई प्रतिगमनतर्फ लैजाने कारण बनाउन मिल्दैन । जसले त्यस प्रकारको क्रियाकलाप गरेपनि त्यो प्रतिगमन हुन्छ । त्यो देशको राजनीतिमा अक्षम्य घातक कार्य हो । ओलीले आफ्नो व्यक्तिगत स्वार्थको खातिर उनको सङ्गठनभित्रको समस्यालाई देशमा प्रतिगमन ल्याउने माध्यम बनाउन खोजेका थिए । तर त्यो एक प्रकारले पराजित भयो र उनी राज्यशक्तिको दुरुपयोग गर्ने ठाउँबाट बाहिरिनु पर्यो । ओलीको प्रतिगमनकारी कदमका विरुद्ध कांग्रेस लगायतका सङ्गठनहरूसित हाम्रो पार्टीले सहकार्य गर्दा कतिपयलाई त्यतिबेला पनि पाच्य भएको थिएन । उनीहरूले कांग्रेस लगायतसँग उक्त विषयको लागि सहकार्य गर्नुलाई गलत र ओलीको प्रतिगमनकारी कदमलाई प्रतिगमन नै नभएको भन्नसमेत पछि परेका थिएनन् । उनीहरूले प्रचण्ड र माधव नेपालले ओलीलाई काम गर्न नदिएको भन्ने जस्ता कुतर्कका आधारमा उनको(ओलीको) प्रतिगमनकारी कदमलाई सही भएको पनि बताउने गर्ने गर्दथे ।
तत्कालीन नेकपा वा त्यो संगठन फुटेर बनेका पक्षहरूले एक–अर्कालाई काम गर्न नदिएको वा राम्रो काम नगरेको भनेर आरोप–प्रत्यारोप गर्ने कुरालाई सम्बन्धित पार्टी वा पक्षका सन्दर्भमा हामीले स्वभाविक तर्क मान्न सक्दछौँ । तर राष्ट्रिय राजनीतिका सन्दर्भमा त्यो कुरा एउटा कुतर्क हो । त्यसरी गरिने कुतर्कद्वारा कुनै पनि कुराको फैसला हुन सक्दैन । वास्तवमा त्यो कुनै सैद्धान्तिक वा राजनीतिक तथ्यमाथि आधारित तर्क नभएर राजनीतिको आवरणमा ओलीको व्यक्तिगत स्वार्थलाई पोषण गर्ने प्रयत्न स्वरुप गरिएको कुतर्क थियो ।
कतिपयले पाँच दलको गठबन्धनलाई प्रतिगमनको निहुँ बनाएर सत्ताको सिंढी चढ्ने बहाना गराएको पनि भन्ने गरेका छन् । त्यसमा अंशतः केही सत्यता पनि छन् । त्यसैले हामीले त्यसलाई पूरै अस्वीकार गर्दैनौँ । किनभने पाँच दल आ–आफ्ना उद्देश्य, लक्ष्य र संगठनात्मक स्वरुप भएका संगठनहरू हुन् । तिनीहरूको पृष्ठभूमि पनि फरक छ । तिनीहरू मध्ये राष्ट्रिय जनमोर्चा बाहेक अरू चार दल त अहिलेका सत्ता साझेदारी संगठन नै हुन् । उनीहरूले क्रान्ति गरेर नयाँ व्यवस्था ल्याउने छन् भनेर सोच्नु पनि सही हुँदैन । त्यसैले उनीहरूलाई हामीले क्रान्तिकारी पनि भनेका छैनौँ ।
जब यही व्यवस्था नै उनीहरूको लागि रणनीतिक उद्देश्यभित्र पर्दछ भने त्यो अवस्थामा उनीहरूले सुधारको कुनै पनि आन्दोलनलाई आफ्नो सत्तामा जाने भ¥याङ बनाउने कुरालाई हामीले अस्वीकार गर्न सक्दैनौँ । उनीहरुले सत्तामा जाने सपना देख्दैनन् र देख्न पाउनु हुन्न भनेर हामीले कसरी भन्न सक्छौँ र ? तर त्यो कुरा ओलीको भन्दा अग्रगमनकारी हुने कुरामा शङ्का छैन । उनीहरूसित हाम्रो जुन सहकार्य छ, त्यो ओलीको प्रतिगमनकारी भूमिकाले निर्माण गरेको थियो । भविष्यमा ओलीले अग्रगमनको दिशा लिए र देशको राजनीतिमा त्यसको सकारात्मक योगदान र महत्त्व हुन गयो भने हाम्रो जोड त्यसलाई समर्थन गर्नेतिर नै हुनेछ ।
जस्तो कि अगाडि भनियो, पाँच दलीय गठबन्धनलाई विभिन्न कोणबाट आक्रमण गर्ने प्रयास गरिएको छ । तर जुन पक्षले यो गठबन्धनमाथि आक्रमण गरिरहेका छन्, उनीहरूले एमाले लगायतका प्रतिगामी पक्षहरूको गठजोडको बारेमा भने टिप्पणी गरेको पाइन्न । यो बुझ्न नसकिने कुरा हो । सम्पूर्ण रुपमा त होइन, जुनसुकै तरिकाबाट भएपनि उनीहरू सम्भवतः प्रतिगमनकारी वा त्यसको मतियार बन्न गएकोले त्यसो भएको पनि हुन सक्दछ । जे होस्, आज प्रतिगमनका विरुद्ध सङ्घर्ष गरेको गठबन्धन जुन एक प्रकारको चुनावी मोर्चामा पनि छ, त्यसलाई यो वा त्यो ढङ्गबाट कमजोर बनाउनु सबै प्रतिगमनकारीहरूको उद्देश्य रहेको छ । यो अवस्थामा हामीले दृढतापूर्वक प्रतिगमनका विरुद्धको संघर्षलाई नै राजनीतिको केन्द्रमा राख्नुपर्ने हुन्छ ।
प्रतिगमनकारीहरूले अहिलेका यी व्यवस्था र संविधानका विरुद्धमा चलाउने अभियानबाट देशमा विकास र अग्रगमन होइन, प्राप्त सबै उपलब्धि समाप्त गरेर देशलाई पुनः अन्धकारतर्फ लैजाने कुरा सबैले सामान्य रूपले बुझ्न सक्ने कुरा हो । देशको प्रजातान्त्रिक वा लोकतान्त्रिक परिस्थिति भन्दा कुनै पनि अवस्थामा प्रतिगमन युक्तिसङ्गत र जनपक्षीय हुँदैन । यो व्यवस्था र संविधान प्रतिक्रियावादी वा बुर्जवा भएपनि प्रतिगमनका तुलनामा तिनको कति हो कति प्रगतिशील महत्त्व छ ।
जब यही व्यवस्था नै उनीहरूको लागि रणनीतिक उद्देश्यभित्र पर्दछ भने त्यो अवस्थामा उनीहरूले सुधारको कुनै पनि आन्दोलनलाई आफ्नो सत्तामा जाने भ¥याङ बनाउने कुरालाई हामीले अस्वीकार गर्न सक्दैनौँ । उनीहरुले सत्तामा जाने सपना देख्दैनन् र देख्न पाउनु हुन्न भनेर हामीले कसरी भन्न सक्छौँ र ?
हामीले अहिलेको व्यवस्था र संविधानलाई हाम्रो लक्ष्यको व्यवस्था र संविधानको दृष्टिकोणबाट तुलना गर्यौं भने निश्चय पनि ती कुरा प्रतिक्रियावादी र बुर्जुवा हुन् । जसका विरुद्ध हामीले सङ्घर्ष गर्नुको विकल्प रहने छैन । तर यो कुरा हाम्रो लक्ष्यको दृष्टिकोणको सापेक्षतामा नै सही हो । देशको अहिलेको राजनीतिक परिस्थिति र हाम्रो दायित्व तथा भूमिकाको दृष्टिकोणबाट हामीले फरक काम गर्नुपर्ने हुन्छ । त्यो काम गर्नका लागि देशको तात्कालिक राजनीतिक आवश्यकताको विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसरी विश्लेषण गर्दा देशमा विद्यमान प्रतिगमनको अवस्था र त्यसबाट हुन सक्ने दुष्परिणामको दृष्टिकोणबाट तुलना ग¥यौँ भने वर्तमान व्यवस्था र संविधान प्रगतिशील हुन आउँछन् । प्रश्न सीधा छ : त्यो अवस्थामा हामीले प्रतिगमन रोज्ने कि प्रगतिशील ? हाम्रो सीधा उत्तर पनि छ : हामीले प्रगतिशील पक्षलाई नै रोज्नुपर्ने छ ।
तात्कालिक राजनीतिक परिस्थितिमा हामीले अपनाउने त्यस प्रकारको कार्यनीतिलाई कतिपयले हाम्रो रणनीतिक लक्ष्यसित गोलमटोल पारेर हाम्रा विरुद्ध आलोचना गर्ने गर्दछन् । ती जतिसुकै आलोचना र टिप्पणी भएपनि हामीले दृढतापूर्वक वस्तुपरक भएर नै आफ्नो राजनीतिक कार्यदिशालाई अगाडि बढाउनु पर्दछ । त्यसरी गठबन्धन र हाम्रो पार्टीको त्यसमा सहभागिताबारे हुने विभिन्न बुझाइलाई हामीले स्वभाविक ठान्नु पर्दछ । ती बुझाइ जे पनि हुन सक्दछन् तर हामीले हाम्रो पार्टीको दीर्घकालीन लक्ष्यको बाटोमा साना साना काम गरिरहेका छौँ, जुन काम हाम्रो सही राजनीतिक भूमिका र देशको तात्कालिक आवश्यकतासित सम्बन्धित हुन्छन् । आफ्नो लक्ष्यका लागि हामीले पार्टीलाई योग्य र दृढ बनाइराख्नु पर्दछ ।
पाँच दलको स्थानीय चुनावमा कतिपय स्थानमा तालमेल भएको छ । त्यो तालमेल कतिपय स्थानमा हाम्रो लागि अप्रिय बनेको हुन सक्दछ भने कतिपय ठाउँमा अन्य पक्षका लागि पनि अप्रिय बनेको होला । मुख्य गरी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र केही अंशमा जनता समाजवादी पार्टीको पनि भूमिका गठबन्धनको मूल्यभन्दा केही टाढा गएर प्रस्तुत भएका छन् । केन्द्र स्तरमा एक प्रकारको सहमति गर्ने तर तल फरक फरक तरिकाले प्रस्तुत हुने र तिनीहरूमाथि समयमा नै कदम नउठाउने यी दलमा देखा परेको इमान्दारिताको गम्भीर समस्या हो ।
इमान्दारितमा सङ्कट र त्यसमा पनि दम्भ हुनु यिनीहरूको महारोग हो । यी दलमा अर्काको अस्तित्वलाई नै स्वीकार गर्न नसक्ने, हैसियत र शक्तिभन्दा बढी माग दाबी गर्ने, आफ्नो आन्तरिक समस्यालाई हल गर्न नसक्ने प्रवृत्ति गठबन्धन हुँदाखेरि नै देखा परिसकेका थिए । त्यो कारणले असन्तुलित प्रकारले गठबन्धनको प्रक्रिया अगाडि बढ्यो । कैयौँ स्थानमा असन्तुलित प्रकारले सिट विभाजन भएका छन् । कैयौँ ठाउँमा एकले अर्कालाई निषेध गर्ने खेल भएका छन् । कैयौँ ठाउँमा बागी उम्मेदवार खडा भएका छन् । कैयौँ ठाउँमा आपसी झडप र भिडन्त भएका छन् भने कैयौँ स्थानमा अन्तरघातका समस्या पनि रहेका छन् ।
पाँच दलको गठबन्धनमा रहेका यी समस्याले जुन उद्देश्यका लागि गठबन्धनको निर्माण भएको हो, त्यसमाथि गम्भीर प्रहार हुन जाने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । यदि गठबन्धनले पराजय भोग्ने छ भने ती दलहरूको दम्भ र इमानमा रहेको समस्या कारण बन्ने छ । त्यसको परिणाम के हुने छ ? भविष्यमा छिट्टै थाहा पाइने छ । हामीले जोड दिन चाहन्छौँ, कैयौँ असन्तुलित सिट विभाजनको बाबजुद पनि जुन हदसम्म सहमति र समझदारी भएका छन् तिनीहरुलाई इमान्दारितापूर्वक कार्यान्वयन गरौँ ।