काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार संकलनका क्रममा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईलााई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार विहान दशरथ रंगशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रंगशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार संकलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्वीर खिच्ने क्रममा प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईमाथि लाठी प्रहार गरेका थिए । लाठी प्रहारबाट पत्रकार चापागाईको कानबाट रगत बगी त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।
संवैधानिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि जिम्मेवार प्रहरी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको महासंघले जनाएको छ । प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ ।
महासंघले प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।