कञ्चनपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय जनमोर्चा कञ्चनपुरले चुनावी प्रचार अभियानलाई तीब्रता दिएको छ ।
चुनाव प्रचारका क्रममा राजमोले जिल्लाका दुई स्थानीय तहमा सभाको आयोजना गरेको छ । जनमोर्चाले बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सभाको आयोजना गरेको हो ।
बेलौरीको कलकत्तामा आयोजित सभालाई राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की र नगरप्रमुख पदका उम्मेदवार रंगबहादुर चौधरीले सम्बोधन गर्नुभएको थियो । सभाअघि राजमोले मोटरसाइकल र्याली निकालेको थियो ।

बेलौरी नगरपालिकामा राजमोको तर्फबाट प्रमुखमा रंगबहादुर चौधरी र उपप्रमुखमा लक्ष्मी चौधरी उम्मेदवार हुनुहुन्छ ।
यता, शुक्लाफाँटा नगरपालिकाको बन्साहमा पनि राजमोले चुनावी सभाको आयोजना गरेको छ । जुलुशसहित बन्साहचोकमा पुगेर सभामा परिणत भएको थियो ।

बन्साहको सभालाई राजमो जिल्ला अध्यक्ष कार्की, नगरप्रमुख पदका उम्मेदवार पृथ्वी केसी र उपप्रमुखका उम्मेदवार कोपिला कार्की (क्रान्ति चौधरी) र वडा नं १ का वडाअध्यक्षका उम्मेदवार विष्णुदत्त पन्तले सम्बोधन गर्नुभएको थियो ।
यता, भीमदत्त नगरपालिकामा राजमोले घरदैलो अभियानलाई तीब्रता दिएको छ । नगर अध्यक्षका उम्मेदवार लालबहादुर कुँवर र उपाध्यक्षका उम्मेदवार हरिना भट्टसहित उम्मेदवार र स्थानीय नेता कार्यकर्ताले विभिन्न वडामा जाने मतदाता भेट्ने, मत माग्ने र मतदान गर्न सिकाउने गरिरहेको प्रमुखका उम्मेदवार कुँवरले बताउनुभयो ।

कञ्चनपुरमा राजमो एक्लै चुनावी मैदानमा छ । तर, परिणाम अन्य दलले सोचेभन्दा फरक ल्याउने अध्यक्ष कार्कीको दाबी छ ।
‘हाम्रो पार्टीको राष्ट्रियताप्रतिको अडान, भ्रष्टाचारविरोधी अभियान र स्पष्ट वैचारिक दृष्टिकोणका कारण जनतामा आकर्षण बढिरहेको छ’ कार्कीले भन्नुभयो, ‘एक्लै चुनावमा प्रतिस्पर्धा गरिरहेका छौँ । तर परिणाम उनीहरुले सोचेभन्दा राम्रो आउँछ ।’