अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नम्बर १ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट वडाअध्यक्षका उम्मेदवार भोजराज खनाल जनताको मायाले पुनः दोहोरिन चाहेको बताउनुभएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छँदा चुनाव प्रचारका लागि टोल–टोलमा पुगेका खनालले जनताले फेरि पनि वडाअध्यक्षकै रुपमा काम गराउन चाहेकोले आफूले पुनः उम्मेदवारी दिएको बताउनुभयो ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका खनाल राष्ट्रिय जनमोर्चाबाट ७४ सालको निर्वाचनमा समेत वडा अध्यक्ष पदमा विजयी हुनुभएको थियो । खनाललाई जनमोर्चाले पुनः वडाको टिकट दिएको हो ।
‘जनताबाटै फेरि पनि अध्यक्ष बन्नु पर्छ भन्ने दवाव आएपछि ममा हौसला आयो’ उहाँले भन्नुभयो, ‘पार्टीले पनि दोहोर्याउन चाह्यो । जनताको इच्छा अनुसार फेरि जनतासामु आएको छु ।’
उम्मेदवार खनाल आफ्ना प्रतिवद्धतापत्र, प्रचार सामग्री, कार्यकर्ता तथा समर्थकसहित भोट माग्न टोल टोलमा पुग्नुभएको छ ।