प्युठान । प्युठानको गौमुखी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्षका उम्मेदवार ज्ञामुराम न्यौपानेले जनताबाट अपेक्षा गरेभन्दा राम्रो सद्भाव पाएको बताउनुभएको छ । चुनाव प्रचारमा व्यस्त रहेका नेता न्यौपानेले गाउँपालिकाको सबै स्थानमा जनतासँग भेटभाट गरिएको र सोचेभन्दा राम्रो सद्भाव पाएको बताउनुभयो ।
‘अहिले जनताको घरदैलोमा जाने र भोट हाल्न सिकाउने गरिरहेका छौँ । एक चरणमा सबै बस्ती टोल पुग्यौँ’ न्यौपानेले भन्नुभयो, ‘जनताबाट अपेक्षा गरेभन्दा राम्रो सद्भाव पाएका छौँ । हामी निर्वाचन जित्ने अवस्थामा छौँ ।’
गौमुखीमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ भने राष्ट्रिय जनमोर्चा एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।
कांग्रेस र माओवादीको गठबन्धनबाट पूर्वअध्यक्ष विष्णु गिरीलाई नै पुनः उठाएको छ । गिरीले यसअघि जनअपेक्षाअनुसार काम गर्न नसकेको मतदाताहरु बताउँछन् ।
स्थानीयबासी जुमानसिंह केसीका अनुसार विष्णु गिरीको अघिल्लो कार्यकाल हेरेका गौमुखीबासीले यसपटक परिवर्तन चाहेका छन् ।

‘ज्ञामुराम न्यौपाने जस्तो सक्षम व्यक्रिलाई जिताउनुपर्छ भन्ने गौमुखीको चाहना हो । उहाँको स्पष्ट भिजन, सरल र सादगीपन एवम् भ्रष्टाचारविरुद्धको प्रतिवद्धताका कारण उहाँप्रति गाउँमा उच्च सम्मान छ । न्यौपानेको जित निश्चित छ’ केसीले भन्नुभयो ।
गौमुखीमा एमालेले उम्मेदवार बनाएका जुमानसिंह जिसी स्थााीय नभएकोले गाउँपालिकाबासीले स्थानीय नेतृत्व चाहेको उहाँले बताउनुभयो । उहाँका अनुसार एमाले उम्मेदवार जिसी र कांग्रेसका गिरी दुवैजना प्युठान नगरपालिका बाग्दुलाका स्थायी बासिन्दा हुन् ।
गौमुखी गाउँपालिकामा राजमोको तर्फबाट अध्यक्षमा न्यौपाने र उपाध्यक्षमा तारा पुरी उम्मेदवार हुनुहुन्छ ।
निर्वाचन प्रचारका क्रममा जनताबाट पाएको सद्भावले आफूहरु आशावादी जितप्रति रहेको हाल गौमुखीमै रहेका नेकपा (मसाल) बागमती प्रदेश प्रवक्ता समीर सिंहले बताउनुभयो ।