काठमाडौं । स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते देशैभर पानी पर्न सक्ने भन्दै जलवायुविदहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
जलवायुविद् डा. धर्मराज उप्रेतिले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराउनुभएको छ ।
बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न उहाँको सुझाव छ । पछिल्लो विकसित प्रणालीबारे जलवायुविद् डा. उप्रेतिले आसानी नाम दिईएको यस आँधी निकै तीब्र गतिमा चलेको बताउनुभयो ।
सो आँधीको असर भारतको उडिसा लगाएत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उहाँले बताउनुभयो ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उहाँले बताउनुभयो ।
जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिनुभएको छ ।