काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता भव्यतापुर्वक सम्पन्न भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ ।
सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसक्नु भएका प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्नुहुने बताउनु भएको हो । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्नुहुने सदस्य सचिव शिलवालले जानकारी दिनुभयो ।
यस्तै सागको समापन कार्यक्रम उद्घाटन जस्तै भब्य हुने पनि सदस्य सचिव शिलवालले बताउनु भयो । समापन कार्यक्रम अघि नेपाल र भुटान बीच पुरुष फुटबल प्रतियोगिता हुने छ । फुटबलमा भुटानका समर्थकहरुको लागि दक्षिण तर्फको प्याराफिटमा छुट्टै स्थान दिने पनि परिषदले बताएको छ । समापन कार्यक्रम अन्तर्गत १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण खेल हुनेछ । फुटबलको फाइनल खेलको समापन सँगै प्रतियोगिताको समापन कार्यक्रम सुरु हुनेछ भने साथै समापन कार्यक्रम १ घन्टाको हुने बताइएको छ ।
कार्यक्रममा नेपाल भ्रमण वर्षको विशेष निमन्त्रणा गरिनेछ भने १४ औं सागका लागि पाकिस्तानलाई सागको झण्डा हस्तान्तरण गरिनेछ ।
यस्तो रह्यो सोमबारसम्मको खेल

पोखरामा नेपाललाई चार स्वर्णसहित ३४ पदक
पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ । यहाँ सञ्चालन भएका आठ खेलका कूल १५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई÷दुई स्वर्ण पदक जितेको हो । भारत्तोलनमा नेपालका तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापाले (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका थिए ।
त्यसैगरी ट्रायथोलनअन्तर्गत महिला स्पर्धामा सोनी गुरुङ र डुआथोलनको पुरुषतर्फ हिमाल टमाटाले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । नेपालले ट्रायथोलन तथा भारत्तोलनमा तीन÷तीन रजत तथा आर्चरी, पुरुष ह्याण्डबल तथा महिला फुटबलमा एक÷एक गरी नौ रजत पदक जित्न सफल भयो ।
त्यसैगरी भारत्तोलनमा ११, ब्याडमिन्टनमा पाँच, आर्चरीमा दुई, महिला क्रिकेट, ट्रायथोलन र महिलाबीच भलिबलमा एक÷एक गरी २१ कास्य पदक जितेको छ । पोखरामा सम्पन्न स्पर्धामा भारतले सर्वाधिक १९ स्वर्ण तथा पाँच रजत र चार कास्य गरी कूल २८ पदक जित्न सफल भयो ।
भारतले भारत्तोलनमा नौ, ब्याडमिन्टनमा छ ट्रायथोलनमा दुई तथा महिला फुटबल तथा पुरुष ह्याण्डबलमा एक÷एक स्वर्ण जित्न सफल भयो । बङ्गलादेशले १३ स्वर्ण, सात रजत र आठ कास्य गरी २८ पदक जितेको छ । आर्चरीमा १० भारत्तोलनमा दुई र महिला क्रिकेटमा बङ्गलादेशले एक स्वर्ण जितेको छ । त्यसैगरी श्रीलङ्काले छ स्वर्ण २३ रजत र आठ कास्य गरी ३७ तथा पाकिस्तानले छ स्वर्ण दुई रजत र छ कास्य गरी १४ पदक जितेको छ ।
श्रीलङ्काले भारत्तोलन तथा बीच भलिबलमा दुई÷दुई तथा ब्याडमिन्टन र एक ट्रायथोलनमा एक÷एक स्वर्ण जितेको छ । पाकिस्तानले भारत्तोलनमा पाँच तथा महिला ह्याण्डबलमा एक स्वर्ण जितेको हो । भूटानले आर्चरीमा पाँच रजत र तीन कास्य तथा भारत्तोलनमा एक कास्य गरी जम्मा नौ पदक जितेको छ । माल्दिभ्सले महिला फुबटलमा एक कास्य पदकमात्र जित्न सफल भयो ।
यही मङ्सिर १५ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भारत्तोलनमा ६०, आर्चरीमा ३०, ब्याडमिन्टनमा २८, ट्रायथोलन १५, बीच भलिबल र ह्याण्डबलमा छ÷छ, महिला क्रिकेट र महिला फुटलबमा तीन÷तीन गरी कूल १५१ पदकका लागि नेपालसहित सात राष्ट्रबीच स्पर्धा भएको थियो । पोखरामा सम्पन्न भएका आठ खेलका लागि ८२४ खेलाडी तथा अफिसियलले सहभागिता जनाएका थिए भने खेल सञ्चालनका लागि ४९१ प्राविधिक तथा अफिसियलको सहभागिता रहेको थियो ।
पौडीमा गौरिकाको कीर्तिमान
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले कीर्तिमान बनाएकी छिन् । उनले आज कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी शिवाङ्गी शर्माले रजत जितिन् । उनले उक्त दूरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरिन् । गौरिकाले एउटै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी हुन् ।
यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल तथा चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् । उनले सागमा नेपालका लागि सर्वाधिक चार स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेकी छिन् । दीपकले सागको चार संस्करणमा चार स्वर्ण जितेका थिए भने गौरिकाले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै इतिहास बनाइन् । उनले दुई रजत र दुई कास्य पदकसमेत जितेकी छिन् ।
जुडोमा नेपालकी पुनम श्रेष्ठलाई स्वर्ण
जुडोकी पुनम श्रेष्ठले तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० मा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको छ । लखनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको महिला ७८ केजीमुनि तौल समूहमा उहाँले नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो ।
पुनमले बङ्गलादेशकी फरिना खानोमलाई पराजित गर्नुभयो । यसअघि उहाँले भारतकी नवनीत कौरलाई पराजित गर्नुभएको थियो । यस्तै महिला ७० केजी तौल समूहमा नेपालकी विनिता मगरले रजत जित्नुभयो । यस स्पर्धामा भारतले स्वर्ण र श्रीलङ्काले कास्यपदक हात पारेको छ । यसैगरी पुरुष ९० केजी तौल समूहमा नेपालका श्रीराम मकाजूले कास्य पदक हात पार्नुभयो । सोही स्पर्धामा भारतले स्वर्णपदक जित्दा पाकिस्तानले रजत जितेको छ ।
महिला फुटबलमा भारतलाई स्वर्ण
१३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गतको पोखरामा सम्पन्न महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फुटबलको फाइनलमा आयोजक नेपाललाई २–० गोलअन्तरले पराजित गरी डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गरेको हो ।
नेपाललाई पराजित गर्ने क्रममा भारतका एनजी बालादेवीले खेलको पहिलो हाफको १८औँ तथा दोस्रो हापको ५५औँ मिनेटमा एक÷एक गोल गरिन् । लिग चरणको खेलमा समेत नेपाललाई भारतले उनकै गोलको मद्दतले १–० अन्तरले पराजित गरेको थियो । महिला फुटबलमा अन्तर्राष्ट्रिय उपाधिबाट बिमुख हुँदै आएको नेपाल घरेलु मैदानमा स्वर्ण जित्ने ऐतिहासिक अवसरको सदुपयोग गर्न नसकेपछि रजत पदकमा चित्त बुझाउन बाध्य बन्यो ।
अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपाली खेलाडीले केही गोलका मौका पाए पनि सदुपयोग गर्न सकेनन् । रङ्गशालामा उपस्थित दर्शकले खेलको शूरुआतदेखि अन्तिमसम्म निरन्तर नेपाली टोलीको समर्थनमा नारा लगाउँदै हौसला प्रदान गरेपनि टोलीले गोलको खाता खोल्न सकेन । खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । खेल लगत्तै उहाँले टोलीको हारको सम्पूर्ण जिम्मेवारी आफ्नो भएको बताउँदै राजीनामा दिने बताउनुभएको हो ।
भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले उपाधि रक्षा गरेर स्वर्ण जित्न पाउँदा खुशी भएको बताउँदै नेपालले पछिल्ला वर्षमा राम्रो फुटबल खेल पस्कदै गोल अन्तरलाई कम गर्दैै लगेको प्रतिक्रिया दिनुभयो । विजेता खेलाडीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले ट्रफी तथा मेडल प्रदान गर्नुभएको थियो ।
भारतसँगको खेलपछि नेपाली टोलीका खेलाडीद्वय निरु थापा र मनमाया लिम्बूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनीहरुलाई समापन समारोहमा सम्मान गरिएको थिया भने राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले दुवै जनालाई आधा तोला सुन प्रदान गरेर सम्मान गर्ने घोषणा गर्नुभयो ।
भारतले १८ स्वर्ण जित्दा नेपाल पदकविहीन
सुटिङ खेलमा कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, सात रजत र चार कास्य गरी २९ पदक जित्न सफल भयो ।
त्यस्तै दोस्रो स्थानमा रहेको पाकिस्तानले दुई स्वर्ण, पाँच रजत र सात कास्यसहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बङ्गलादेशले कूल १० पदक हात पार्न सफल भयो । बङ्गलादेशले छ रजत र चार कास्य पदक जितेको हो । चौथो स्थानमा रहेको श्रीलङ्काले दुई रजत र पाँच कास्य गरी कूल सात पदक हात पारेको छ । माल्दिभ्स, भूटान र नेपाल पदकविहीन रहे ।
सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलङ्काले रजत र बङ्गलादेशले कास्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो । यसको समूह चरणमा नेपाली टोली पाँचौँ हुँदै बाहिरिएको थियो । भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अङ्कसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलङ्काका एलभिस केएआई र फर्नान्डो टिडिएसको जोडी आठ अङ्कमा रोकिएको थियो ।
कास्य पदकका लागि भने बङ्गलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए जसमा बङ्गलादेश बाजी मार्न सफल भयो । बङ्गलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अङ्कका साथ कास्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अङ्कमा रोकिँदै चौथो स्थानमा रहे । विजेता खेलाडीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गर्नुभयो ।
बास्केटबलः नेपालले जित्यो रजत
साग अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टोलीले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को कभर्ड हलमा आज भएको फाइनल खेलमा भारतसँग पराजित भएपछि नेपाल रजत पदकमा सीमित बनेको हो । भारतसँग नेपाल २०–१५ ले पराजित भयो । सोही स्पर्धामा श्रीलङ्काले कास्य जित्यो ।
सेमिफाइनल खेलमा नेपाल श्रीलङ्कालाई २१–९ ले पराजित गर्दै फाइनल पुगेको थियो । त्यसैगरी महिलातर्फको खेलमा भारतले स्वर्ण जित्दा श्रीलङ्काले रजत र नेपालले कास्यपदक जिते ।