काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छ । नेकपाको एक पक्षले विप्लवलाई महासचिवबाट हटाएको छ ।
महासचिव विप्लवले कारबाही गरेका नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओली पक्षले राष्ट्रिय भेला गर्दै विप्लवलाई महासचिव पदबाट हटाएको हो ।
चितवनमा जारी राष्ट्रिय भेलाले पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले गरेको स्थानीय तह निर्वाचनमा नजाने निर्णय उल्लंघन गर्दै महासचिवकै निर्देशनमा पार्टीका नेता कार्यकर्ता चुनावमा सहभागि भएकाले महासचिवलाई पार्टीबाट हटाउनु परेको नेता गुणराज लोहनीले बताउनुभयो । नेकपाले धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक बनाएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘बैठकले जे–जे निर्णय गरेको थियो, हामी सबैलाई थाहा छ कि पार्टी चुनावमा नजाने । देशभक्त, एमसीसी विरोधी शक्तिहरुलाई उठाउने भन्ने थियो । र केन्द्रीय समिति बैठक सकेर आउने बित्तिकै केन्द्रीय सदस्यहरु नै चुनावमा जान थाले महासचिवको निर्देशनमा । प्रवक्ता आफै गएर निर्वाचन आयोगमै दल दर्ता गर्ने समयसम्म पुग्नुभयो । पछिल्लो क्रममा रोल्पाको सुनसर र थवाङमा कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्ने जुन निर्णय गर्नुभयो । यसबाट केन्द्रीय समितिले गरेका निर्णयहरु पूर्ण रुपले उहाँहरुले खारेज गरिसकेपछि हामीले केन्द्रीय समितिको बैठक बोलाउन आव्हान ग¥यौँ । उहाँहरुले बोलाउनु भएन ।’
उहाँले थप्नुभयो, ‘हामीले केन्द्रीय समिति बैठक बोलाउनुस् । बिस्तारित बैठक बोलाउनुस् भन्ने कुरा मान्नुभएन । हामीले आज चाहीँ राष्ट्रिय भेला सबै जिल्लाबाट प्रतिनिधिमुलक तरिकाले राष्ट्रिय भेला बोलाएर आज तत्कालिक केन्द्रीय समितिको बहुमतले जे निर्णय गरेको थियो त्यसको विरुद्ध गएको कारणले गर्दाखेरी महासचिवलाई हटाएको र धर्मेन्द्र बास्तोलालाई नेपाल कम्युनिष्ट पार्टीको संयोजक हामीले नियुक्त गरेका छौँ । भेलाले निर्णय गरेको हो ।’
नेकपाको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई विप्लवले केही समय अघि पार्टी जिम्मेवारीबाट मुक्त गरेको विज्ञप्ती जारी गर्नुभएको थियो ।
स्थानीय निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा विवाद बढ्दै जाँदा पार्टी फुटको अवस्थामा पुगेको हो । महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताहरु निर्वाचनको पक्षमा छन् भने सचिवालय सदस्यद्वय ओली र बास्तोलाले त्यसको विरोध गर्दै आएका छन् ।