काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका बसन्त कुमार बस्नेतले कर नतिरेको भन्दै उजुरी परेको छ ।
नगरप्रमुख उम्मेदवार बस्नेतविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी परेको हो । आयोगका अनुसार नेकपा(एमाले)का तर्फबाट प्रमुखका उम्मेदवार रहेका भागवत राउतले उजुरी गरेका हुन् ।
निर्माण व्यवसायी समेत रहेका बस्नेतको कम्पनी एपेक्स इन्द्रेणी जेभीले कर नतिरेपछि आन्तरिक राजश्व कार्यालय लहानले भ्याट नतिरेको सूचना प्रकाशित गरेको थियो । सो सूचनासहित परेको उजुरीमा बस्नेतको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।
बस्नेतले भ्याट नतिरेको प्रमाणसहित निर्वाचन आयोगमा उजुरी परेको आयोगले जनाएको छ ।
आयोगका अनुसार स्थानीय निर्वाचन ऐन, २०७३ को दफा १३ को (च) र (ञ) तथा दफा १४(१) तथा (२) बमोजिम उम्मेदवारी रद्द गर्न माग गरिएको हो ।
आन्तरिक राजश्व कार्यालय सिरहा, लहानले २०७८/१२/२७ मा प्रकाशित गरेको सूचनामा बस्नेतले मूल्य अभिवृद्धि कर तिर्न बाँकी रहेको उल्लेख छ ।
त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसको एकल उम्मेदवारी परेको छ भने चार दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी दल, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रिएका छन् ।

