काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एक कारखानामा भिषण आगलागी भएको छ । आगलागीबाट कम्तिमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।
प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ। एएफपीका अनुसार दिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीले भनेका छन्, ‘हामीले ५० जनालाई उद्धार गरिसकेका छौं । मृतकको संख्या अझै बढ्न सक्छ ।’
आगो लागेको बहुतल्ले भवनभित्र दर्जनौँ सङ्ख्यामा कामदारहरू सुतिरहेका थिए। उक्त भवनमा प्लास्टिकका खेलौना बनाउने गरिएको बताइएको छ।
दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको छ तल्ले भवनमा बिहान सबेरै आगो लागेको हो। कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्। घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुख व्यक्त गरेका छन्।
घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिवारलाई राहत स्वरुप १०-१० लाख भारु दिने घोषणा गरेका छन्। घाइतेहरूको उपचार गरिने र उनीहरूलाई पनि एक-एक लाख राहत रकम दिने उनको भनाइ छ।