काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का अन्तिम प्रतिस्पर्धीरुलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोष साहकोसाथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरेको हो ।
बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले साह सम्मिलित सेफ टीमलाई सम्मान गरेका थिए ।

सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवान (परिकार) लाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले यस कार्यले नेपाली परिकारहरु विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले सन्तोषसहित टीमका सहभागी अन्य सेफहरुको आगमन र नेपाल भ्रमणले नेपाली पकवान पर्यटनलाई थप टेवा पुर्याएको बताउनुभयो ।
सम्मानित व्यक्तित्व सेफ सन्तोष साहले नेपाली खानालाई विश्व मञ्चमा पुर्याउन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । उहाँले नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको बताउनुभयो । सेफ साहले आफ्नो साथमा आएको टीमलाई पुनः नेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न आग्रह गर्नुभयो ।
त्यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफूहरु नेपाल घुम्न, यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुशी लागेको बताए । उनीहरुले नेपाल साच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिँदै नेपाल सबैका लागि प्रिय देश रहेको बताए ।