प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकामा गठबन्धन दलले पदको बाँडफाँट गरेका छन् । आइतबार गठबन्धनका तीन दलको बैठकले स्थानीय निर्वाचनका लागि पालिकादेखि वडातहसम्म पद बाँडफाँट गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीच तालमेलको टुंगो लागेको हो । सहमति अनुसार नेपाली कांग्रेसले नगरप्रमुख सहित ३ वटा वडा पाउने छ भने राष्ट्रिय जनमोर्चाले उपप्रमुखसहित ४ वटा वडा अध्यक्ष पाउने भएको छ । दुई वडाको नेतृत्व माओवादी केन्द्रले पाउने गरी सहमति गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति गिरबहादुर घर्ती, राष्ट्रिय जनमोर्चाका नगर इन्चार्ज इमानसिंह खड्का र माओवादी केन्द्रका अध्यक्ष टेकबहादुर भट्टराईको हस्ताक्षर रहेको छ । तीन दलबीच जुन वडामा जसले नेतृत्व गर्नेछ, उसैको चिन्हमा लड्ने सहमति पनि भएको छ ।
प्युठानमा पद बाँडफाँट गर्ने स्वर्गद्वारी नगरपालिका पहिलो भएको छ ।जिल्लास्तरमा भने सहमति हुन बाँकी छ ।
