घोराही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बनाउन सक्ने क्षमता भएका व्यक्तिले पैसाको अभावमा चुनाव लड्न सक्ने अवस्था नभएको बताउनुभएको छ ।
शनिबार दाङको लालमटियामा राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटिले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले चुनाव अत्यन्त महंगो भएको भन्दै भ्रष्टाचार नगर्ने र समाज परिवर्तन गर्न सक्ने क्षमता भएका व्यक्ति चुनाव लड्न नसक्ने अवस्था रहेको बताउनुभएको हो ।
‘पैसावाला व्यक्ति मात्र चुनाव लड्न सक्ने अवस्था छ । इमानदार, योजना भएका तर पैसा नभएका व्यक्ति चुनाब लड्न सक्ने स्थिति छैन’ अध्यक्ष केसीले भन्नुभयो, ‘ जबसम्म भ्रष्टाचारको अन्त हुँदैन तवसम्म देशको अवस्था यस्तै रहन्छ ।’
उहाँले राष्ट्रिय जनमोर्चाका निर्वाचित जनप्रतिनिधिले अहिलेसम्म भ्रष्टाचार नगरेको र त्यस्तो अवस्था भेटिए पार्टीले तुरुन्त कारबाही गर्ने भन्दै निर्वाचनमा राजमोका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
अध्यक्ष केसीले संघीयताका कारण देश टाट पल्टने अवस्थामा पुगेको र राष्ट्रियता पनि इतिहासमै सबैभन्दा कमजोर भएको टिप्पणी गर्नुभयो । उहाँले एमसीसी पास गरेर ठूला भनिने दलहरुले देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सत्तासँग सौदावाजी गरेको आरोप लगाउनुभयो ।
फरक प्रशंगमा अध्यक्ष केसीले केपी ओलीको प्रतिगमनविरोधी गठबन्धनको अगुवाइ राष्ट्रिय जनमोर्चाले गरेको बताउनुभयो । उहाँले प्रतिगमनको खतरा अझै पनि रहेकोले चुनावी तालमेल आवश्यक परेको बताउनुभयो ।
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, दाङ जिल्ला अध्यक्ष गणेश आचार्यलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।