काठमाडौं । गत २०७८ चैत १६ गतेबाट सुरु भएको ‘प्रधान सेनापति ट्रफि–२०७८’ खेलकुद प्रतियोगिताको शुक्रबार (वैशाख २ गते) समापन भएको छ ।
जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति प्रभुराम शर्माले विजेता खेलाडीलाई पुरस्कार वितरण गरी समापन गर्नुभएको हो ।
प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेलहरु समावेश गरिएका थिए ।

समापनको क्रममा प्रधान सेनापति शर्माले कमाण्डतर्फ प्रथम हुन सफल श्री मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनी अड्डातर्फ प्रथम हुन सफल श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हिम्मत बहादुर बिष्ट र गणतर्फ प्रथम हुन सफल श्री जगदल गणका गणपति सरोज कुमार कार्कीलाई नगद पुरस्कार तथा ट्रफि प्रदान गर्नुभयो ।
सोही अवसरमा प्रधानसेनापति शर्माले ‘सीओएस ओपन म्याराथन रन फर फन २०७८’ प्रतियोगिताको ४२ किमि विधाका विजेता जमदार कृष्ण बस्नेत र १० किमितर्फ प्रथम भएका सिपाही सुभाष कार्कीलाई ‘अतिरथी स्वर्गीय निर शम्सेर जबरा पुरस्कार’ प्रदान गर्नुभयो ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली सेनाका खेलाडीहरु, बक्सिङ्गतर्फ अमल्दार पुनम रावल, सुटिङ्गतर्फ प्युठ कल्पना परियार र एथलेटिक्सतर्फ सिपाही सरस्वती चौधरीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार तथा सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
सोही क्रममा, बलाधिकृत रथी बालकृष्ण कार्कीले महिलातर्फ भलिबल खेलाडी शान्ति कुमारी थारु र पुरुषतर्फ फुटबल खेलाडी बन्दोवस्ती कार्य सिपाही सुमन अर्याललाई ‘महारथी श्री गौरव शम्सेर जबरा अजेयबल सम्पन्न ट्रफी’ हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा रक्षा सचिव किरणराज शर्माले आज आयोजित गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल श्री भैरवनाथ गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।
त्यसैगरी उक्त खेलमा द्वितीय स्थान हासिल गर्न सफल फष्ट राइफल गणका खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले र तृतीय स्थान हासिल गर्न सफल पुरानो गोरख गणका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले प्रमाणपत्र तथा पदक प्रदान गर्नुभयो ।
साथै, यसअघि बास्केटबलमा प्रथम हुने श्री नं.१६ बाहिनी अड्डा, भलिबलमा प्रथम हुने श्री नं.१९ बाहिनी अड्डा, सुटीङ्गमा प्रथम हुने श्री नं.२८ बाहिनी अड्डा र एथलेटिक्सतर्फ प्रथम हुने श्री नं.१६ बाहिनी अड्डाहरुले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गरेका थिए ।