मेर्जन शाही
यदि सबथोक सामान्य रह्यो भने लगभग डेड महिनापछि अर्थात् २०७९ वैशाख ३० गते नेपालमा एकै चरणमा स्थानीय तहको चुनाव हुँदै छ । दुई दुईपटक प्रतिनिधि सभा विघटन, फेरि पुनस्र्थापना, देशकै दुईतिहाइ प्राप्त राजनीतिक पार्टी नेकपाको विघटन र तीनओटा समूहमा विभाजन, नयाँ गठबन्धन सरकारको निर्माण, तत्पश्चात लगातार प्रतिनिधि सभा अवरोध र अवरोधकै बिच विवादित राष्ट्रघाती एम.सी.सी. सम्झौता पारित आदि अनेकन् घटनाक्रमको बिचबाट स्थानीय तहको चुनाव तोकिएको छ ।
यो चुनावले खास गरेर संविधान कार्यान्वयन भएको देख्न चाहने, गणतन्त्र संस्थागत भएको देख्न चाहने, विधिको शासन चाहने, धर्म निरपेक्षता चाहने र प्रतिगामी अर्थात् यी सबै खाले परिवर्तनलार्ई उल्ट्याउने चाहनबिचको लडाइँको रूपमा लडिनुका साथसाथै भ्रष्टाचार, सुशासन, राष्ट्रियता, भौगोलिक अखण्डता, जनतन्त्र र जनजीविकासँगै हालै संसद्बाट जबर्जस्ती पास गराइएको राष्ट्रघाती एम.सी.सी. सम्झौता र त्यसले देशको भविष्यमा पार्ने प्रभाव आदिको सवालहरूमा पनि केन्द्रित भएर लडिने छ र लडिनुपर्दछ ।
माथि भने झैँ मुद्दामा केन्द्रित भएर विभिन्न दलले चुनावी घोषणापत्र तयार पार्ने छन् । यसमा दुई मत छैन तर त्यसरी तयार पारिएका घोषणापत्र न जनताले पढ्छन, न स्वयम् ती राजनीतिक दललार्ई नै त्यो घोषणापत्रप्रति खासै चासो हुन्छ । संसद्वादी पार्टीको हकमा त्यो खालि खानापूर्तिका लागि मात्र लेखिन्छ र छापिन्छ । हिजोको इतिहासलार्ई हेर्ने हो भने आफैले छापेको घोषणापत्रको बारेमा उहीँ दलकै ठुलै नेतालार्ई सोध्यो भने पनि जम्मै कुरा बिर्सिसकेको हुन्छ । यस्तो अवस्थामा आम मतदाताको कुरा गरिसाध्य छैन ।
अब यस्तो अवस्थामा एउटा कुरो सधैँ प्रश्नचिह्न भएर आउँछ कि भोट दिने त दिने तर कसलाई दिने ? यही गन्जागोल मानसिकताको फाइदा भ्रष्ट तथा समाजबाट बहिस्कृत हुनुपर्ने राजनीतिक दल र तिनका नेता उठाउँछन र साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरी जनतालार्ई फसाउन पुग्दछन् । यसरी जनता एकपटक भोट दिएर पाँच वर्ष पछुतोमा बिताइरहेका हुन्छन् । फेरि अर्को चुनावमा पनि पुनः त्यही सिलसिला दोहोरिन्छ । फरक यति मात्र कि कुर्सीमा शासन गर्नेहरू त फेरिन्छन् तर जनताको अवस्थामा कहिल्यै परिवर्तन आउँदैन ।
यो लेखलार्ई अगाडि बढाउनुभन्दा पहिला के कुरा म स्पष्ट पार्न चाहन्छु भने जनताका सबै समस्याको समाधान यो पुँजीवादी गणतन्त्रात्मक प्रणाली अथवा यही व्यवस्था र चुनापबाट छनिएको नेतृत्वबाट सम्भव हुँदैन । त्यसका लागि नयाँ नेपाल जस्तो देशको हकमा जनवादी व्यवस्था स्थापना हुन जरुरी हुन्छ । त्यसका लागि बलिदानीपूर्ण क्रान्तिको अपरिहार्य आवश्यकता पर्दछ । यो कुरामा स्पष्ट हुन जरुरी छ ।साथसाथै हामीले यो पनि बुझ्न जरुरी छ कि तत्कालै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सम्भव नभएको अवस्थामा यही प्रणालीअन्तर्गत रहेर पाएका अधिकारहरूको सही उपयोग गरेर पनि हामीले आफ्नो नेतृत्वमा कैयन् सुधारका काम अगाडि बढाउन सकिन्छ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विकास निर्माणको क्षेत्रमा हामीले स्वस्थ र पारदर्शी नेतृत्व गरेर केही फरक सुरुवात अवश्य गर्न सक्दछौँ । त्यसका लागि हामीले सही दृष्टिकोणसहित अगाडि आउन आवश्यक छ ।
अब मुख्य प्रश्नमा प्रवेश गरौँ : भोट केमा दिने ? भोट कसलार्ई दिने ? अर्थात् समर्थन कसलार्ई गर्ने ? जबसम्म मानव जीवन रहन्छ, तबसम्म राजनीति रहन्छ । जबसम्म राजनीति रहन्छ, तबसम्म यो प्रश्न रहिरहन्छ कि केलार्ई अगाडि बढाउने ? कसलाई समर्थन गर्ने ? यो प्रसङ्गमा मेरो एउटा सानो अनुभव छ ।
दोस्रो साना सहरी तथा खानेपानीको एक तालिममा यो पङ्क्तिकार पनि सहभागी भएको थियो । त्यसमा सुरुवातमै प्रशिक्षकले एउटा सामान्य प्रश्न गर्नुभयो : यो आयोजनाले कुन बैङ्कबाट ऋण प्राप्त गरेको छ ? एक– विश्व बैङ्क, दुई– एसियाली विकास बैङ्क । बाँकी सबै जनाले एक नम्बरमा हात उठाउँदा दुई जनाले मात्र दुई नम्बरलार्ई छनेका थियौँ । पछि मेरो नजिकैको त्यो साथीले पनि आफ्नो राय बदलेर एक नम्बरमै आफ्नो अभिमत जाहेर गर्दा म एक्लै भएको थिएँ । तर पछि जब प्रशिक्षकले उत्तर सुनाउनुभयो, दोस्रो नम्बरको उत्तर सही थियो ।
हुन त यो सामान्य कुरा हो तर यसबाट के प्रष्ट हुन्छ भने कहिलेकाहिँ बढी मान्छेले गरेको निर्णय पनि गलत हुन सक्छ । अनि, अर्को कुरा हामीले आफ्नो राय बनाउँदा नितान्त अरूलाई हेरेर होइन, कमसेकम सत्यलाई बुझेर या सत्यको करिब पुगेर आफ्ना अभिमत प्रकट गर्नुपर्दछ ।
एवम् रीतले हामीले दैनिक जीवनमा कैयन्पटक कुनै न कुनै पक्षमा आफ्ना विचार प्रकट गरिरहेका हुन्छौँ । खाना कतिपटक खाँदा राम्रो हुन्छदेखि लिएर आराम कति गर्ने भन्नेसम्म तथा जापानको उन्नतिदेखि रुसयुक्रेन युद्धसम्म आफ्ना विचार राखेकै हुन्छौँ । यो सब मानवीय स्वभाव हो । मानवीय चरित्र हो ।
जब हामी चुनावमा भोटद्वारा आफ्ना अभिमत जाहेर गर्दछौँ, तब यो विषय तपार्ईंंको स्वतन्त्र अभिमतको विषय मात्र हुन जान्न, त्यो बेला विभिन्न माध्यमबाट हामीमाथि हस्तक्षेप गरिन्छ । पार्टीको अघोषित ह्विप, नातागोता, इष्टमित्र, जाति, धर्म, क्षेत्र आदिद्वारा हाम्रा स्वतन्त्र अधिकार माथि हस्तक्षेप गर्ने गरिन्छ, त्यतिले पुगेन भने व्यापक धनपैसाको चलखेल आदि गरेर प्रभावमा पार्ने कोसिस गरिन्छ । त्यतिले पनि काम नगरे हातहतियार तथा गुन्डाको प्रयोग गरेर पनि हाम्रा अभिमतलाई कुन्ठित गर्ने दुष्प्रयास गरिन्छ । यति सबै हुँदाहुँदै पनि स्वयम् हामी पनि अलग्गै मनरोगी झैँ आफूलाई प्रस्तुत गरिरहेका हुन्छौँ । जब हामीलाई गल्तीको आभास हुन्छ, त्यतिन्जेल धेरै ढिला भइसकेको हुन्छ । हामीलाई पार्टी केही होइन, व्यक्ति हेर्नुपर्दछ भन्ने मानसिकता विकास गराइरहदा न हामी पार्टी हेर्न पुग्दछौँ, न व्यक्ति । हामीले कमसेकम यतिसम्म त सोच्न सक्नुपर्दछ कि एक नितान्त सही व्यक्तिले गलत पार्टीलाई किन अँगाल्न पुग्दछ ?
हामीले सानैदेखि बुझेको एउटा सिद्धान्त सङ्गतानुसारको व्यवहार हुन्छ भन्ने प्रसङ्गलार्ई पनि चटक्कै भुल्न पुग्दछौँ । एउटा सामान्य तर्क पनि यो कि ती तमाम व्यभिचारी, कमिसनखोर र भ्रष्टाचारीको बिचमा एउटा सदाचारी मान्छे कतिन्जेल सदाचारी रहला ? त्यसकारण पार्टी केही होइन भन्नु नितान्त सामान्य सत्यमाथि पनि पर्दा हाल्नु हो ।
एक त त्यस्तो पार्टीस्कुलबाट उत्पादित कार्यकर्ता, जो अविचलित रूपमा सत्य र निष्ठामा समर्पित हुन सक्छन, जो पार्टीसँग लोभलालचरहित आदर्श नेतृत्व छ, जुन नेतृत्वले नीति र सिद्धान्तको अगाडि जस्तोसुकै त्याग गर्न सक्छ र जुन पार्टी सहजै यो र त्यो शक्तिका अगाडि आत्मसमर्पण गर्दैन । त्यो पार्टी र त्योसँग सम्बन्धित नेता–कार्यकर्ताको पक्षमा आफ्ना अभिमत प्रकट गर्न सक्नुपर्दछ, जो आज हामी सकिरहेका छैनौँ ।
यसरी हामी पार्टीभन्दा पनि माथि व्यक्ति हुन्छ जस्ता आसयका नितान्त अराजनीतिक तर्कसहित फैलाइएका भ्रमको सिकार हुन पुग्दछौँ । अनि, नातागोता, इष्टमित्र आदिरूपी जालोमा सहजै समर्पित हुन पुग्दछौ, जसको परिणाम त्यो व्यक्ति न पार्टीप्रति उत्तरदायी हुन्छ, न समाजप्रति । हामी एक नपुंशक नेतृत्व निर्माणमा सहभागी मात्र हुँदैनौँ, राज्यका निकायलाई नै नपुंशक बनाउन भूमिका खेल्दछौँ । त्यसो भएको हुनाले हामीले सही राजनीतिक लाइन भएको पार्टीको पक्षमा आफ्ना अभिमत प्रकट गर्नुको अर्थ अझ व्यापक मात्रामा बुझ्नुपर्दछ ।त्यसले केवल पाँच वर्षका लागि मात्र नेतृत्व छान्ने छैन, त्योभन्दा पनि राजनीतिलार्ई नै शुद्धीकरणको दिशातर्फ लैजाने छ । त्यसले आगामी दिनमा विभिन्न पार्टीहरू लोभलालच, पैसाको बिटो र गुन्डा फौज ल्याएर होइन, विचार र राजनीति बोकेर जनताको बिचमा आउने हिम्मत गर्ने छन्, जसले देशको राजनीतिलाई सकारात्मक गोरेटोतिर लैजानेछ । साथसाथै त्यसको अर्थ एक सामान्य आयस्रोत भएको मान्छेले पनि चुनाव लड्ने साहस गर्ने छ । त्यसले समग्रमा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सर्वोपरी हित गर्ने छ ।
हामीले यसरी भन्दै गर्दा सबैभन्दा बढी दिइने तर्कमध्यको एक मुख्य तर्क भनेको हार्नेलाई भोट किन दिने भन्ने नै हो । यसको पनि कुनै वस्तुगत आधार भेटिँदैन । अलिकति सोच्ने हो भने त्यसको उत्तर भेट्याउन सकिन्छ ।
अब सोच्नुहोस्, हामीले भोट दिएका सबैले जित्ने त होइनन् । जित्ने कुनै एउटाले हो । जो पहिलो भयो, उसैले जित्ने प्रणालीअन्तर्गत ७० प्रतिशत भोट हार्ने उम्मेदवारले पाएको हुन्छ । उदाहरणका लागि एउटा वडामा चार, छ जना वडाअध्यक्षका उम्मेद्वार छन्† जस्तै एमालेले ५०० मत पाएर जित्यो भने हार्नेमध्य काङ्ग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा आदिका क्रमशः ४५०, ३००, २००, १५० । अब यहाँनेर ५०० जनाले मात्रै जित्ने उम्मेद्वारलार्ई भोट दिएको देखिन्छ । बाकी १,१०० जनाले हार्ने उम्मेद्वारलार्ई आफ्नो भोट दिएका छन् । यस्तो स्थिति अधिकांश ठाउँमा हुने गर्दछ । त्यसैले हामीले हार्नेलाई भोट किन दिने भन्ने तर्क गर्दागर्दै बहुमतले भोट त हार्ने ठाउँमै दिएका हुन्छौँ ।
अब अर्को कुरा, जनताले मन बनाएर सोच्यो भने हार्ने कुनै कारणै हुँदैन । हिजोआज भर्खरै भारतको पन्जाब राज्यको विधानसभा चुनावमा त्यहाँका जनताले आम आदमी पार्टीलार्ई झन्डै दुईतिहाइ बहुमत दिएर त्यसको पुष्टि गरिदिएका छन् । गत चुनावमा नाम मात्रकै सिट जितेको पार्टी अहिले प्रचण्ड बहुमतका साथ सत्तासिन हुन पुगेको छ । जनतामा त्यो खालको चेतना स्तर उठ्यो भने कुनै यो अथवा त्यो अवरोधले परिवर्तनको प्रवाहलार्ई रोक्न सकिन्न भन्ने दृष्टान्त हाम्रै छिमेकी देशमा घटित भइरहेका छन् ।
मैले सुरुमै उल्लेख गरे झैँ अरूको पर्वाह नगरी एक आफूबाट सुरु गर्नु जरुरी छ । आफू एक्लै मात्र भए पनि सत्यको पक्षमा नडग्मगाई दृढ्तापूर्वक उभिन जरुरी छ, नत्र अरू कसैले परिवर्तन गरिदेला र म त्यसैमा सहभागी भए झैँ गरेर फाइदा लिउँला भन्ने सोचाइले हामीलाई सधैँ पिछडिएको वर्गमा निरन्तर उभ्याइरहने छ।
ती सबैको साथसाथै भोट दिनु भनेको अमुक कुनै उम्मेद्वारलाई जिताउनु या हराउनु मात्र हुँदैन, यसको अर्को महत्वपूर्ण पाटो पनि हुन्छ† जस्तै : राष्ट्रिय जनमोर्चालार्ई गिलासमा मत दिनु भनेको त्यो पार्टीका अमुक नेतालाई जिताउनु मात्र पनि हुँदैन, त्यो पार्टीले उठाएका सङ्घीयता, देशको सार्वभौमसत्ता, राष्ट्रियता, प्रजातान्त्रिक विकेन्द्रीकरण, नागरिकता नीतिलगायत मुद्दाको पक्ष वा विपक्षमा आफ्नो मत प्रकट गर्नु पनि हुन जान्छ । तपार्ईंंलाई सङ्घीयता त मन पर्दैन तर भोट देशमा जातीय राज्य हुनुपर्छ भन्ने जस्ता पार्टीलार्ई दिनुभयो भने त्यो तपाईंको सोचको एकदम विरुद्ध हुन जान्छ । यस्तो पार्टीलाई भोट दिनु भनेको यो विचारको पक्षमा हामी यति जना छौँ है भनेर उपस्थिति जनाउनु पनि हो, जसका कारणले देशमा राजनीति गर्ने पार्टीलाई विचारसहित भएर जनताको बिचमा आउन बाध्य पार्न सकियोस्, न कि पैसाको बिटो बोकेर । यसरी हामीले दिने भोटबाट हाम्रो चेतना स्तरलाई मापन गर्न सकिन्छ ।
हामी एकछिनका लागि भारतको दिल्ली र पन्जाब प्रान्का जनतालाई तिनीहरूको उच्चतम चेतनास्तरका लागि उदाहरण दिन बाध्य भयौँ । यद्यपि आम आदमी पार्टी कुनै वैज्ञानिक समाजवादी पार्टी नभएर एक पुँजीवादी विचारधाराको प्रतिनिधित्व गर्ने पार्टी हो । यति मात्रै हो कि भाजपा जस्तो कट्टर धार्मिक दक्षिणपन्थी पार्टी र काङ्ग्रेस आईको तुलनामा आफूलाई केही समाजवादी दिशामा रूपान्तरित गरेर प्रस्तुत गरिरहेको छ र त्यहाँका जनताले उसको नारालार्ई सुने, बुझे, पत्याए वा विश्वास गरे । अब वैकल्पिक शक्तिको रूपमा ल्याएर उभ्याइदिए । अब यहाँनेर मुख्य प्रश्न हामी परिवर्तनको विरोधी हुने या त परिवर्तन हुँदै गर्दा रमिते हुने अर्थात् किनाराको साक्षी मात्र हुने वा परिवर्तन गर्नमा या हुनमा आफ्नो भूमिका सुनिश्चित गर्ने ? कुरा त्यति मात्र हो । त्यसैले अहिले हामी केही अतिरिक्त्त जोखिम नमोली संविधानले दिएको अधिकारअन्तर्गत नै आफूले सही भूमिका खेलेर सही ठाउँमा अभिमत दिएर केही हदसम्म देशलाई राष्ट्रलार्ई एक दिशा प्रदान गर्न सक्दछौँ । अहिले भइरहेको व्यापक निराशालाई आशामा परिणत गर्न सक्छौँ ।
त्यसैले त्यसको सही सदुपयोग किन नगर्ने ? अब अनुहार हेरेर होइन, मुद्दा हेरेर किन भोट नहाल्ने ? एक सही राजनीतिक लाइन र सही विचारलाई अगाडि बढाउन किन भूमिका नखेल्ने ? जानी जानी बुझी बुझी राष्ट्रघात गर्ने, एम.सी.सी. गर्ने, सिमाना मिचिँदा पनि चुपचाप बस्ने पार्टी र तिनका कार्यकर्तालाई भोट दिएर अझै थप यस्ता काम गर्नुहोला भनेर म्यान्डेड दिने काम हामी स्वाभिमानी नेपाली जनताले किन गर्ने ? यिनी यावत् थुप्रै प्रश्नसहित आगामी चुनावमा भोट केमा हाल्ने ? भोट कसलाई हाल्ने ? फैसला गर्न अब जरुरी भइसकेको छ ।