काठमाडौं । जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ एक नेपालीले विश्व साइकल यात्रा प्रारम्भ गरेका छन् ।
शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत् भ्रमण गर्ने तयारी गर्नुभएको हो ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस अभियानका बारेमा जानकारी दिनुभयो । उहाँले विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरुलाई न्यूनीकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व साइकल यात्रा तय गरिएको बताउनुभयो ।
अभियानमार्फत् जलवायु परिवर्तनको असरको सम्बन्धमा सचेतना फैलाउनुका साथै १५० देशमा कार्बन उत्र्सजन न्यूनीकरणको सन्देशसहित ५०० वटा वृक्षारोपण गर्ने उहाँको भनाई छ ।
विश्व साइकल यात्रामा आफूले इलेक्ट्रिक साइकल प्रयोग गर्ने जानकारी दिनुभयो । आगामी दिनमा स्वच्छ वातावरणका लागि पेट्रोलियम पद्धार्थको प्रयोगमा बन्द गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले साइकलमार्फत् नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लावस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्मको यात्रा पहिलो चरणमा गर्ने र क्रमशः अन्य देशहरुमा यात्रा गर्ने बताउनुभयो । पाँच वर्ष भित्रमा विश्वका १५० देशको यात्रा गर्ने लक्ष रहेको शर्माको भनाई छ ।