काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको छ । स्थानीय निर्वाचनलाई एक पक्षले उपयोग र अर्को पक्षले बहिष्कार गर्ने तयारी गरेसँगै नेकपामा दरार देखिएको छ ।
सो दलभित्र चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा तीब्र मतभेद छ । यही चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकले मतभेदका कारण स्थानीय तहको चुनावलाई बहिष्कार पनि नगर्ने र सक्रिय सहभागी पनि नबन्ने निर्णय गरेको थियो । स्वतन्त्र उम्मेदवारी भने दिन पाइने बैठकले तय गरेको छ ।
चुनावमा जाने कि नजाने भन्ने विषयमा पार्टीमा दुई धार देखिएको हो । महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा चुनावको उपयोग गर्नुपर्ने पक्षमा हुनुहुन्छ भने सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बाँस्तोलालगायत बहुमत पक्ष बहिष्कारको पक्षमा छ ।
मतभेदका बावजुद विप्लव पक्षले चुनाव उपयोग गर्ने रणनीति बनाएपछि नेता बाँस्तोलाको समूहले विरोध गरेको छ ।
यसले पार्टी विभाजन हुनसक्ने संकेत गर्दै बाँस्तोलाले भन्नुभएको छ, ‘हाम्रो छलफल, बहसद्वारा हाम्रोबीचमा रहेको दुरी कम गर्यो भने त्यतातिर जाँदैन। दुरी भयो भने त त्यसलाई इन्कार गर्न मिलेन।’
पार्टीको बहुमतबाट चुनाव उपयोग नगर्ने निर्णय गरेपनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ यही चैत २४ गते निर्वाचन प्रक्रियाबारे छलफल गर्न निर्वाचन आयोग पुग्नुभएको थियो । देशका कतिपय क्षेत्रमा नेकपाका केन्द्रीय नेताहरुले स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।
संस्थापन पक्ष निर्वाचन प्रक्रियामा सामेल हुन लागेपछि नेता बाँस्तोला समूह भने थप असन्तुष्ट बनेको छ ।
‘प्रकाण्ड हाम्रो पार्टीको प्रवक्ता हो। जिम्मेवार नेता हो, उहाँले पार्टीको नीतिभन्दा बाहिर जानुहोला जस्तो लाग्दैन। तर, लचक चाहिँ हुनुहुन्छ।बाँस्तोलाले भन्नुभएको छ, ‘चुनावमा भाग नलिने भनेपछि पार्टीको लाइन पनि बचेको छ, कार्यदिशा पनि बचेको छ, पार्टीको प्रतिष्ठा पनि बचेको छ ।’