काठमाडौं । चुनावी गठबन्धनमा रहेका बागमती प्रदेशका पाँच राजनीतिक दल स्थानीय निर्वाचनमा सहकार्यको मोडालिटीबारे सहमति नजिक पुगेका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठबन्धन दल सहमति नजिक पुगेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको हो ।
आइतबार र सोमबार दुई दिन काठमाडौंमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुको उपस्थिति रहेको थियो।
यसअघि बागमती प्रदेशका ५ दलीय गठबन्धनले आआफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिईसकेका छन् भने बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।