दुर्गानाथ खरेल
प्लेटो र अरस्तुका लेखहरू सङ्कलन गर्ने क्रममा इसापूर्व १७० तिर सबैभन्दा पहिले मेटाफिजिक्स शब्दको प्रयोग भएको थियो । उनीहरूबाट आत्मा, परमात्मा र अस्तित्वसम्बन्धी विषयलाई मेटाफिजिक्स भनियो । कालान्तरमा त्यही विषयअन्तर्गत सम्पूर्ण सत्ता र अस्तित्वसम्बन्धी अध्ययन गर्न थालियो । अस्तित्वसम्बन्धी समस्यासँगै दर्शनशास्त्रको प्रारम्भ हुन्छ ।
श्रोत विषय खोज्ने प्रयत्न गर्दा सत्ताशास्त्र आरम्भ हुन्छ । विज्ञान सापेक्ष शास्त्र हो र सत्ताशास्त्र निरपेक्ष हो । विज्ञानभन्दा सत्ताशास्त्रको विषयवस्तु अझै व्यापक हुन्छ । सत्ताशास्त्रले स्थुल विश्वका साथै सूक्ष्म वा पारस्परिक सत्ताको सम्भावनाबारे समेत व्यापक अध्ययन गर्छ ।
समग्र तत्वशास्त्रकै मूल उद्देश्य मूल सत्तासम्म पुग्नु हो । तत्वशास्त्रका विधि तीन भागमा विभाजित छन् :
१. भौतिकवादी तत्वदर्शनअन्तर्गत परमतत्व भौतिक छ । यसलाई वैज्ञानिक साधनद्वारा सिद्ध गर्न अथवा असिद्ध गर्न सकिन्छ । समग्र विश्व जिवजन्तु र विकास भौतिक हुन् । आत्मा, परमात्मा, पूर्वजन्म जस्ता मान्यता केवल कपोलकल्पित मात्र हुन् । विश्वको उत्पत्ति, प्राणीजगत््को सिर्जना, चेतनाको विकास जस्ता विषय भौतिक हुन् । यिनीहरूको कुनै चेतन कारण छैन । यही मूल मान्यतामा भौतिकवादीहरू विश्वास गर्छन् । विज्ञानको द्वन्द्वात्मक स्वभावका कारण विश्वको विकास भएको हो । प्रकृतिमा बिनाबन्धन जीवहरूको उत्पत्ति हुन्छ । प्रकृति जीवनको विकासका लागि आवश्यक तत्व हो, बन्धन होइन । परमात्मा, आत्मा जस्ता तत्वहरू काल्पनिक हुन् । तत्वशास्त्रले सत्ताको अध्ययन गर्छ भने ज्ञानमिमांसाले त्यसको विश्लेषण गर्दछ । ज्ञानको श्रोत प्रकृति हो । प्रामाणिकता, सीमा तथा परिस्थितिबारे अध्ययन–अध्यापन गर्नु नै ज्ञानशास्त्र हो । प्रत्यक्ष नै ज्ञानको एक मात्र प्रामाणिक साधन हो ।
२. आध्यात्मवादी तत्वदर्शनले परमतत्व चेतनशील, सर्वशक्तिमान छ र मूल कारण सर्वशक्तिमान छ र सर्वव्याप्त छ । यसलाई ज्ञान, भक्ति र कर्मको माध्यमबाट साक्षात्कार गर्न सकिन्छ । इसाई परमेश्वर र हिन्दु ईश्वरको रूपमा परम तत्व दुवै स्थापित अनिवार्यता हो भनेर वैज्ञानिक प्रमाण र प्रामाणिकतालाई पन्छाउँछ ।
३. विश्लेषणात्मक तत्वदर्शनले तत्वबारे अन्वेषण, संश्लेषण र विश्लेषण गर्दा पूर्वाग्रहरहित हुनु हो भन्ने मान्यता राख्दछ । यसले दुवैलाई सँगै हिँडाई परम तत्वको बौद्धिक, माध्यमिक वा अन्य विधिद्वारा साक्षात्कार गर्ने प्रयत्न गर्दछ ।
वस्तु हाम्रो चेतना अथवा संवेदनाभन्दा स्वतन्त्र र हामीबाट अलग्गै वस्तुनिज रूपमा अस्तित्ववान् हुन्छन् । तिनीहरू मानिसको चेतनामा ज्ञात हुन बाँकी रहेका पनि हुन सक्छन् । वस्तुहरूको निजरूप र परिघटनाका बिच अहिलेसम्म ज्ञात र अज्ञातको मात्र अन्तर हुन्छ । गतिका यान्त्रिक, भौतिक, रासायनिक, जैविक र सामाजिक रूपहरूको अन्तरसम्बन्ध र अन्तरनिर्भरताका साथै आर्थिक, सामाजिक ढाँचा, उत्पादक शक्ति र उत्पादन सम्बन्धबिचको द्वन्द्वात्मक बताउँदै दिग र कालका सापेक्षिक अवधारणाले नै निरपेक्ष सत्यको निर्माण गर्दछन् ।
मानिस वा कुनै पनि जीवन अस्तित्वमा आउनुभन्दा धेरै पहिलेदेखि नै पृथ्वी अस्तित्वमा थियो । चेतना पदार्थको दीर्घ विकासको परिणाम हो । पदार्थ प्राथमिक हो र विचार, चेतना, संवेदना आदि पदार्थका अत्यन्त उच्च विकासका परिणाम हुन् । हाम्रा ज्ञानेन्द्रियहरूमा क्रिया गर्ने पदार्थले संवेदना पैदा गर्छ । मस्तिष्क, स्नायु र रेटिना भन्ने पदार्थका विशेष किसिमले सङ्गठित अङ्गमा संवेदन निर्भर गर्दछ तर पदार्थ भने संवेदनामा निर्भर नगरी स्वतन्त्र हुन्छ ।
पदार्थ प्राथमिक हो र चेतनाबाट स्वतन्त्र छ । चेतना पदार्थको उपज हो । यो पदार्थमै निर्भर गर्दछ । चेतनाको निर्माण पदार्थबाट हुन्छ भने पदार्थ चेतनामा प्रतिबिम्बित भएर संवेदना पैदा गर्दछ ।
वस्तु र घटना वा वस्तु र चेतनाबिच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । संवेदनाले चेतना र बाह्य जगत्बिच प्रत्यक्ष सम्बन्ध राख्छ अथवा बाह्य जगत्लाई चेतनाको तथ्यमा रूपान्तरण गर्ने माध्यम संवेदना हो । हाम्रा ज्ञानेन्द्रियहरूमा बाह्य वस्तु वा परिघटनाको धक्का लागेर तिनीहरूको अस्तित्वबोध हुनु नै ज्ञान हो । वस्तुहरू हामीभन्दा बाहिर स्वतन्त्र रूपले अस्तित्ववान् हुन्छन् । हाम्रा धारणा र विचार तिनीहरूकै बिम्ब हुन् । ती बिम्बको सही वा गलत विभेदीकरण व्यवहारबाट हुन्छ ।
मानव मस्तिष्क अत्यन्त उन्नत किसिमले सुगठित रूप हो । यसबाट हुने परावर्तन मनिसको इच्छा र चाहनामा निर्भर गर्दैन । परावर्तित वस्तु भौतिक जगत् हो, परावर्तनकर्ताभन्दा बाहिर र स्वतन्त्र रूपमा धेरै पहिलेदेखि अस्तित्ववान् छ ।
ज्ञान कुनै तम्तयार र अपरिवर्तित वस्तु होइन, वस्तुगत जगत्को बोध गर्नु भनेको जगत्को बारेमा गहन ज्ञान प्राप्त गर्नु हो । सापेक्ष सत्यको कुल योगबाट निरपेक्ष सत्य बनेको हुन्छ । ज्ञान निरन्तर निरपेक्ष सत्यको नजिक पुगिरहेको हुन्छ ।
परावर्तनको प्रकृयालाई पदार्थको गतिका मुख्य निजरूपद्वारा बयान गर्न सकिन्छ । प्रथम– भौतिक, रासायनिक निर्जीव प्रकृतिमा ऊर्जा रूपान्तरणको रूपमा परावर्तन प्रकट हुन्छ । दोस्रो– जैविक परावर्तनमा परावर्तनको प्रारम्भिक घटना सरल जीवमा खाना र सुरक्षाका रूपहरू देखा पर्छन् । उन्नत तहका जीवमा खाना, सुरक्षा, आक्रमण र यौन आकाङ्क्षाका प्रतिकृया देखिन्छन् । अनुवंशिक गुणहरू पनि धेरै पुस्तासम्म सुदृढ रूपमा पाइन्छन् । त्यसले जैविक विकासमा प्राकृतिक छनौटको नियमलाई जनाउँछ । जैविक क्षेत्रमा देखिने परावर्तनको रूप उन्नत तहका जीवको स्नायुप्रणालीका गतिविधिमा हुन्छ । त्यसमा जीवनचक्रलाई नियमित र निरन्तर बनाउने निश्चित कृयाकलापका साथै आवास निर्माण, सामूहिक सुरक्षा तथा आक्रमणको सङ्गठन सन्तानको हेरचाह, खाद्यान्न तथा जीवनयापनको अवस्थाको छनौट जस्ता कार्यसमेत पर्छन् ।
परावर्तनको सर्वाेच्च रूप मानवीय चेतनाको तहमा पुगेपछि हुने सामाजिक प्रकृयाको परावर्तन हो । त्यो धेरै रूपमा हुन्छ । व्यक्तिले आफ्ना व्यवहारका उद्देश्य निर्धारण गर्ने व्यक्तिगत परावर्तन हो । अवधारणाको रूपमा जगत्को वैज्ञानिक जानकारी, जुन व्यक्तिगतभन्दा सामाजिक चरित्रको हुन्छ, सामाजिक चरित्रकै अर्काे रूप बाह्य जगत्सँग मानिसको अन्तक्र्रियालाई मानिसको कला र साहित्यको रूपमा पुनःरचना गर्नु पनि हो । जनतालाई सामाजिक जीवनको विकास र सञ्चालनको अवस्थाबारे जानकारी गराएर सङ्गठनात्मक क्षेत्रको परावर्तन गराउनु पनि महत्वपूर्ण काम हो । साथै पूरै सामाजिक रूपको प्राविधिक मेसिन आदि सृजना हुने परावर्तनले मानिसको लक्ष्य प्राप्त हुने क्षमतामा असीमित विस्तारसमेत गर्न सक्छ ।
वस्तुगत सत्य नै निरपेक्ष सत्य हो । निरपेक्ष सत्य सापेक्ष सत्यको कुल योगबाट बनेको हुन्छ । द्वन्द्वात्मक भौतिकवादमा वस्तुगत सत्यलाई स्वीकार गरेर सापेक्ष सत्यबाट निरपेक्ष सत्यतिर बढ्नुपर्छ र हाम्रा सम्पूर्ण ज्ञानको निरपेक्ष सत्य पत्ता लगाउने सीमा ऐतिहासिक अवस्थाअनुकूल हुन्छ । मानवीय जीवन निर्वाहका निम्ति आवश्यक पर्ने भौतिक साधनको उत्पादन कार्य समाज विकासको आधारशिला हो ।
सामाजिक परिवर्तनको मूल शक्ति समाजको उत्पादक शक्ति हो । सामाजिक अस्तित्वले चेतनाको निर्धारण गर्दछ । आर्थिक आधारअनुरूपको सामाजिक संरचना बन्दछ । उत्पादक शक्ति र उत्पादन सम्बन्धबिच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । विरोधी पक्षका बिच एकता र सङ्घर्ष हुन्छ । इतिहासका निर्माता श्रमजीवी जनता हुन् ।
माक्र्सवादको प्रतिपादन हुने बेलासम्म स्वतन्त्र प्रतिस्पर्धा र प्रगतिशील चरित्र भएको पुँजीवाद थियो । एकाधिकारी पुँजीवादी मण्डलको निर्माण, बैङकिङ पुँजी र औद्योगिक पुँजी मिलेर वित्तीय पुँजीको निर्माण, वस्तुको ठाउँमा पुँजी निर्यात, एकाधिकारी मण्डलबिच विश्वबजारको बाँडफाँड र महाशक्तिका बिच विश्वको बाँडफाँड जस्ता चरित्र ग्रहण गरेर साम्राज्यवादमा रूपान्तरित भएकाले आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो ।
सामाजिक चेतना भनेको मानिसको विचार, दृष्टिकोण र सिद्धान्त, सामाजिक भावना, मानिसको बानीब्यहोरा र रीतिरिवाज सम्पूर्णको योग हो । यसले मानव समाज र प्रकृतिको प्रतिबिम्ब उतार्छ । त्यही नै मानिसको सामाजिक अस्तित्वको मुख्य तत्व हो ।
सामाजिक चेतनाका रूपहरूले सामाजिक अस्तित्वका विभिन्न पक्षलाई प्रतिबिम्बत गर्दछन् । मानिसहरूको सामाजिक चेतना उनीहरूको सामाजिक अस्तित्वको उपज हो । मानिसहरूको व्यक्तिगत विकासमा चेतनाको सापेक्षिक आत्मनिर्भरता रहन जान्छ । अस्तित्वमा फेरबदल भएपछि मात्र उनीहरूको चेतना बदलिन्छ । सामाजिक चेतनाको मूल जरो समाजको भौतिक जीवनमा मात्रै भेटिन्छ ।
नयाँ वर्गले आफ्नो विचारधाराको निर्माण गर्दा अतीतका मानव विचारधारालाई ग्रहण गर्छ र आफ्नो सेवामा लगाउँछ । साम्राज्यवादी सिद्वान्तकारहरूले श्रमिकलाई बौद्धिक दासत्वअन्तर्गत राख्न मध्ययुगिन पाण्डित्य र रहस्यवादसहित अध्यात्मवादी तथा धार्मिक प्रणालीको उपयोग गर्दछन् । क्रान्तिकारीहरूले अतीतका वैचारिक उत्तरदेनबाट आफनो वर्गीय सकारात्मक महत्व नगुमाइकन मानवजातिको प्रगतिशील विकासमा योगदान पु¥याउने सामथ्र्य राख्दछन् ।
सर्वहरा वर्ग नै अतीतको बौद्धिक उत्तरदेनको सबैभन्दा विवेकशील हिफाजती र चिन्तनशील संरक्षक हो । प्रगतिशील वर्ग र जनसाधारणको हितको अभिव्यक्ति गर्ने विचारको मात्र प्रगतिशील महत्व हुन सक्छ । तिनीहरूले मात्र पुरानो सामाजिक व्यवस्थाको उन्मूलन र नयाँ सामाजिक व्यवस्थाको स्थापनामा योगदान पु¥याउँछन् । सर्वसाधारण जनता तिनीहरूप्रति आकर्षित भएपछि मात्र ती विचार भौतिक शक्ति बन्न पुग्छन् । चेतनाको भूमिका उललेख गर्दा सामाजिक मनोभावना, खास गरिकन वर्ग र ठुला ठुला सामाजिक दलको मनोभावनालाई समेत ध्यानमा राख्नुपर्छ ।
सबै मान्छेको चेतनालाई एउटै स्तरमा बनाउन सकिन्न । रचनात्मक रूपमा विचार गर्ने जीवन्त र क्रियाशील मान्छेहरूबिचको मात्र समानता सम्भव हुन सक्छ । समाजमा चेतनाले वैज्ञानिक सुव्यवस्थित चेतनाको निर्माणको निम्ति चाहिने सामग्रीको काम गर्दछ ।
सामाजिक र प्राकृतिक विज्ञान वैज्ञानिक चेतनाअन्तर्गत पर्दछन् । सामाजिक अस्तित्व राजनीति र आचार, विज्ञान र धर्म, साहित्य र कला जस्ता वास्तविक तथ्यका सम्बन्धमा मानिसको विचार सामान्य तथा सैद्धान्तिक चेतनाको निश्चित संश्लेषण हो । सामाजिक चेतनाले पनि वर्गीय चरित्र लिएको हुन्छ । निश्चित वर्गको राजनीतिक, न्यायिक, नैतिक, कलात्मक तथा अन्य धारणा र विचारको समुच्यय नै त्यस वर्गको विचारधारा हो ।
पार्टीले आफ्ना काम गर्नुपर्छ । आफ्नो वर्गलाई, त्यसपछि सर्वसाधारण जनतालाई तालिम र प्रशिक्षण दिनुपर्छ । जनताका लागि गरिने सबै काम उनीहरूको आवश्यकताबाट सुरु गरिनुपर्छ । जतिसुकै राम्रो आसय भए पनि कुनै एउटा व्यक्तिको इच्छाबाट सुरु गरेर काम लाग्दैन । जनता आफ्ना आवश्यकताबारे सचेत, इच्छुक र परिवर्तनका लागि दृढ नहुँदासम्म क्रान्तिकारीहरूले धैर्यतापूर्वक प्रतिक्षा गर्नुपर्छ । त्यसो नगर्ने हो भने हामी आफै जनताबाट एक्लिने काम गरिरहेका हुने छौँ ।
जनता र पार्टीका बिचको सम्बन्ध पार्टी नेतृत्व र सर्वसाधारण व्यक्तिबिचको सम्बन्ध जस्तै विपरीतको एकता हो, जसमा एकले अर्काप्रति कृया–प्रतिकृया देखाउँछन् । जनवादी विचार वा सिद्धान्त वास्तवमै जनताबाट आउँछ । यो साच्चै नै फर्केर जनतामै जान्छ भन्ने निश्चित बनाउन आवश्यक छ । त्यसका लागि पार्टीभन्दा बाहिरका जनता र पार्टीका बिचमा मात्र होइन बरु पार्टी नेतृत्व वर्ग र पार्टीभित्रका जनसमूहबिच सही सङ्गठनात्मक पद्धति हुनुपर्दछ ।
पार्टी र जनताबिचको चक्रीय अन्तक्र्रिया माक्र्सवादी ज्ञानसिद्धान्तका व्यवहार र सिद्धान्तका बिच द्वन्द्वात्मक सम्बन्धानुरूप हुन्छ । पार्टीका सबै व्यावहारिक काममा जनताबाट विचार लिनु, तिनीहरूलाई एकत्र गर्नु, त्यसपछि फेरि जनतामा नै फर्कनु आफ्नै मानेर अङ्गिकार गर्ने, बलियोसँग फक्रने, व्यवहारमा रूपान्तरण गर्ने र व्यवहारको शुद्धताको परीक्षण गर्ने गर्न नलाग्दासम्म आफना विचारलाई प्रचार र व्याख्या गर्दै जानुपर्छ । अर्काेपटक पनि जनताबाट विचार एकत्र गरेर फेरि जनतामै जानुपर्छ ।
वस्तुगत दुनियाँलाई बदल्नु, तिनीहरूको आफ्नै आत्मगत संसारलाई बदल्नु, तिनीहरूका सङ्ज्ञानात्मक क्षमतालाई बदल्नु र आत्मगत तथा वस्तुगत संसारका बिचका सम्बन्धलाई बदल्नुपर्दछ । बदल्नुपर्ने वस्तुगत संसारले पनि परिवर्तनका सबै विरोधीलाई समेट्छ । बदलिने उद्देश्यले स्वेच्छिक तथा सचेत परिवर्तनको अवस्थामा प्रवेश गरिसक्नुभन्दा पहिले बाध्यकारी अवस्थाबाट गुज्रनुपर्दछ । श्रमिक वर्गका लागि, श्रम गर्ने जनताका लागि र कम्युनिस्ट पार्टीका लागि मानवजातिलाई महान् शान्तिको क्षेत्रमा प्रवेश गर्ने अवस्था सिर्जना गर्न गरिएको कठोर परिश्रम हो भन्ने पनि बुझ्न सक्नुपर्छ ।
सन्दर्भ सूची
१. जर्ज थोम्सन, माक्र्सदेखि माओत्सेतुङसम्म (अनुवाद भगवानचन्द्र ज्ञवाली)
२. वेदुराम भुसाल, दर्शनशास्त्र परिचय, प्रकाशक ः एसिया पब्लिकेसन प्रालि, बागबजार, काठमाडौँ
३. भिक्टर आफनास्येभ, दर्शनशास्त्रको प्रारम्भिक ज्ञान, प्रकाशक ः प्रगति प्रकाशन
४. डा. गोविन्दशरण उपाध्याय, परिचयात्मक पाश्चात्य दर्शन, प्रकाशक ः पैरवी बुक हाउस, काठमाडौँ