सुमन आचार्य,चितवन ।
सीमा अतिक्रमण तथा भारतीय हस्तक्षेप विरुद्ध राष्ट्रिय जनमोर्चा चितवनले विरोध प्रदर्शन गरेको छ । भरतपुरको चौविसकोठीमा जाली नक्सा खारेजीको माग गर्दै शुक्रबार विरोध प्रदर्शन गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष डम्बर पुरीले भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरी जाली नक्सा सार्वजनिक गरेको एक महिना बितिसक्दा समेत सरकारका तर्फबाट निर्णायक पहलकदमी चाल्न ढिलाइ गरेकोले वर्तमान सरकारको चरित्र उदाँगो बनेको बताउनुभयो ।
उहाँले सरकारभन्दा बाहिर छँदा राष्ट्रियताका चर्का कुरा गर्ने र सत्तामा हुँदा देशी विदेशी शक्तिहरुको दलाली गर्ने द्वैध चरित्रका कारण मुलुकको राष्ट्रियता र सार्वभौमिकता संकटमा फस्दै गएको बताउनुभयो । पुरीले मिचिएको भूमि फिर्ता ल्याउन सरकारलाई दवाव सिर्जना गर्नका लागि व्यक्तिगत र पार्टीगत स्वार्थबाट माथी उठेर राष्ट्रियताको रक्षाको यो आन्दोलनमा सामेल हुनका लागि सम्पूर्ण राजनैतिक दल र सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा नेकपा (मसाल) जिल्ला प्रवक्ता मेघराज ढकालले इतिहास देखि वर्तमानसम्म नेकपा (मसाल) ले राष्ट्रियताको लडाइँ लड्दै आइरहेको स्मरण गराउँदै हालै भारतले सार्वजनिक गरेको नक्साले नेपाली सार्वभौमिकतालाई चुनौती दिएको बताउनुभयो । देशको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि फेरि पनि जनताको एकता र देशभक्तिपूर्ण संघर्षको आवश्यकतामाथि जोड दिनुभयो ।
कार्यक्रममा अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन (छैठौं)केन्द्रीय सचिव सुवास जिसीले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथी भारतीय हस्तक्षेप नेपाललाई निल्ने योजना अन्तर्गत भएको बताउनुभयो । भारतले नेपालमा संघीयता लादेर नेपाललाई टुक्राउन लागिपरेको र अहिलेको हस्तक्षेप पनि त्यही योजनाको अंश भएको भन्दै जिसीले भारतको योजना सफल हुन नदिन बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चा भरतपुर महानगरका सचिव सुमन शर्मा आचार्यको सञ्चालनमा अगाडि बढेको कार्यक्रमामा भारतीय साम्राज्यवाद विरुद्ध नारावाजी गर्नुका साथै संघीयता र वर्तमान सरकारका गलत रवैयाहरुका विरुद्ध चर्को नारावाजीका साथ समापान गरिएको थियो ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतीय साम्राज्यवादी सेना फिर्ता गर ! भारतीय जाली नक्सा खारेज गर, मिचिएको भुमी फिर्ता गर !! भन्ने मुल नाराका साथ विरोध सभा सम्पन्न भएको हो ।




