कुवेत । नेपाल र कुवेतबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको अवसरमा कुवेतस्थित नेपाली दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यसै सन्दर्भमा कुवेतका सवारी साधनमा नेपाल र कुवेतका महत्वपूर्ण सम्पदा अंकित तस्विर सार्वजनिक गरिएको छ ।
नेपाली राजदूतावासको तत्वावधान तथा सिटी ग्रुप कम्पनीको सहयोगमा कम्पनीका केही बसहरू मार्फत दुई मुलुकबीच रहीआएको मैत्रीपूर्ण एवं सुमधुर सम्बन्धलाई जनस्तरमा समेत प्रतिविम्बित गराउने उद्देश्यले दुवै देशका केही महत्वपूर्ण सम्पदाहरू समेत समेटी तयार गरिएको एक सन्देशमुलक सामग्री आज एक कार्यक्रम मार्फत सार्वजनिक गरिएको दूतावासले जनाएको छ ।
ती सामग्री कम्पनीका बसहरूका पृष्ठ भागमा अंकित गरिएको छ । कुवेतका लागि नेपालका राजदूत दुर्गाप्रसाद भण्डारी तथा सिटी ग्रुप कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. धिरज भारद्वाजले सो दृश्य सामग्री सार्वजनिक गर्नुभएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भण्डारीले नेपाल र कुवेत बीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ एवं विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र कुवेत बीच सन् १९७२ मा स्थापना भएको कूटनीतिक सम्बन्ध सन् २०२२ मा ५० वर्ष पुरा हुँदैछ ।

