खुम रायमाझी, कुवेत ।
नेपाल–कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा नेपाली राजदूतावास, कुवेतले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । स्थानीय नेपाली समुदाय समेतको सहयोगमा कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपालीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको दूतावासले जनाएको छ ।
कुवेतको लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी तथा कुवेत सरकार स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सहभागि अतिथिहरूले संयुक्त रूपमा रिवन काटी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भण्डारीले सन् १९७२ मा नेपाल र कुवेत राज्य बीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात दुई देशबीच आपसी मित्रता र सहयोगका क्षेत्रमा भएको विकास, सुमधुर मैत्रीपूर्ण सम्बन्धलाई थप अभिवृद्धि गर्न दुवै पक्षबाट हुँदै आएका कामकारबाहीहरूबारे उल्लेख गर्दै यहाँ रहेका नेपालीहरूले जनस्तरसम्म आपसी सम्बन्ध विस्तार गर्न पुर्याएको सहयोगको सराहना गर्नुभयो ।

उहाँले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्ष प्रवेशका अवसरमा आयोजित रक्तदान कार्यक्रममा स्वतस्फूर्त रूपमा सहभागी भई मानवीय सेवाको यो पवित्र कार्यमा सहयोग पुर्याएकोमा कुवेतमा रहेका नेपाली समूदायलाई विशेष धन्यवाद दिनुभयो ।
उहाँले रक्तदानका लागि आवश्यक वातावरण जुटाउनुका साथै कार्यक्रममा सक्रिय सहभागिता जनाएकोमा कुवेत सरकार परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू, सेन्ट्रल ब्लड बैंकका निर्देशक, डाक्टर तथा नर्सहरू लगायत सम्बद्ध सम्पूर्ण पदाधिकारी एवं कर्मचारीहरू प्रति आभार प्रकट गर्नुभयो।
सन् २०२२ मा नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्ष को सन्दर्भमा नेपाली राजदूतावास, कुवेतले विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ ।