बुटवल । रुपनदेहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमोर्चाको निर्वाचन लक्षित भेला सम्पन्न भएको छ । भेलाले आगामी स्थानीय निर्वाचन लक्षित विभिन्न कार्यक्रम तय गरेको छ ।
जसमा वडा भेलाहरु, कार्यकर्ता प्रशिक्षण गर्ने जनाइएको छ । भेलाले ११ सदस्यीय निर्वाचन परिचालन समिति, ५१ सदस्यीय प्रचारप्रसार समिति र ३ सदस्यीय आर्थिक व्यवस्थापन समिति बनाएको छ ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलमले प्रतिगमनको खतरा कामयै रहेको वर्तमान अवस्थामा जनमोर्चाले स्थानीय निर्वाचनलाई आन्दोलन र पार्टीको राजनीतिको प्रचारको नीति अन्तर्गत उपयोग गर्ने कुरालाई प्राथमिकतामा राखेको बताउनु भयो ।
आइतबार भएको सो भेलालाई सम्बोधन गर्ने क्रममा नेता आलमले ५ दलीय गठबन्धनमा रहेका चार दल राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गर्न भूमिका खेलेकाले आफ्नो पार्टी गठवन्धनबाट बाहिरिएको बताउनुभयो ।
आलमले एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई वर्तमान सरकारले संसदबाट जालझेल गरी पारित गरेकोप्रति आपत्ति जाहेर गर्दै यो मुद्दालाई स्थानीय निर्वाचनमा जनताको माझमा पु¥याउने दायित्व आफ्नो पार्टीको काँधमा आएको जिकिर गर्नु भयो ।
भेलामा वामपन्थी नेता चेतनाथ आचार्यले पनि सम्बोधन गर्नु भएको थियो ।
राजमोका नगर अध्यक्ष रूक बहादुर पराजुलीको अध्यक्षता, सचिव हुमाकान्त न्यौपानेको सञ्चालन तथा उपाध्यक्ष हर्क बहादुर टण्डनको स्वागतमा भएको कार्यक्रममा शिवराम घिमिरे लगायत नेताहरुले बोल्नु भएको थियो ।