काठमाडौं । नाबालिग गायिकामाथि बलात्कार अभियोगमा अभिनेता पल शाह जेल चलान भएका छन्। जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
तीन दिन लामो थुनछेक बहसपछि प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले बिहीबार थुनामा पठाउन आदेश जारी गरेको हो।
२०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो। फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
दर्ता लगत्तै अदालतले उनीसँग बयान लिएको थियो। शाह र उनका म्यानेजर कृष्ण जोशीसँगको बयानपछि सरकारी वकिल र पीडित पक्षका निजी कानुन व्यवसायीले बहस गरेका थिए।
पल पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
पलका म्यानेजर कृष्ण जोशीसँग भने अदालतले एक लाख धरौटी माग गरेको छ।
पललाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ। उनका म्यानेजरलाई त्यसको आधा सजाय माग गरिएको छ। पलविरुद्ध जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ।