काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–२ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ सुन्दरटोल बस्ने ५३ वर्षीय दासाङ शेर्पाको मंगलबार बसमा यात्रा गर्दा साढे तीन लाख रुपैयाँ भएको कालो झोला बसमै छुट्यो । जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा उनको साथमा भएको नगद बसमै छुटेको थियो, तर बस नम्बर भने उनलाई थाह भएन ।
उनले साँझ अन्दाजी साढे ७ बजे प्रहरीलाई त्यसबारे खबर गरे । महानगरीय प्रहरी बृत्त बौद्धबाट तत्कालै मातहत इकाईका प्रहरीहरुलाई सो सूचना प्रवाह गराई उक्त रुटमा चल्ने सम्पूर्ण बसहरुलाई चेकजाँच गरियो ।
त्यसक्रममा महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरी टोलीले यात्रुबाहक बसहरु चेकजाँच गर्ने क्रममा रत्नपार्कबाट जहरसिंह पौवासम्म चल्ने बा ४ ख ६४३३ नंम्बरको यात्रुबाहक बसबाट उल्लेखित नगदसहितको कालो झोला फेला पार्न सफल भयो ।
प्रहरीले उक्त झोला र नगद सम्बन्धित धनि दासाङ शेर्पालाई बुझाएको छ ।
प्रहरीले सार्वजनिक यातायातका सवारी साधनहरुमा यात्रुका सामानहरु यदाकदा छुट्ने गरेको सन्दर्भमा त्यस्ता सवारी साधनका चालक सह(चालकहरुले उक्त सामानहरु प्रहरीमार्फत सम्बन्धित धनीलाई बुझाउन सहयोग गरी प्रदर्शन गरेकोप्रति महानगरीय प्रहरी परिसर टेकुले उच्च सम्मान प्रकट गरेको छ।
साथै गलत नियतले कोहि कसैले सवारी साधनमा छुटेका उक्त सामानहरु नबुझाइ आफूले नै लुकाई छिपाई लिने खाने नियत प्रदर्शन गरेको खण्डमा कारबाही हुने पनि प्रहरीले सूचित गरेको छ।