काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी छाडेको घोषणा गर्नुभएको छ । माओवादीमा जिम्मेवारी बाँडफाँटप्रति असन्तुष्ट शर्माले साधारण सदस्य पनि नरहने गरी पार्टी छोडेको सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।
माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्षसमेत रहेका शर्माले सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टीबाट राजीनामा दिनुभएको हो ।
‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र) को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु’, शर्माले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘आगामी दिनमा एक स्वतन्त्र नागरिकको रूपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्ने छु। जनताको निरन्तर सेवामा निःस्वार्थ सकेजती भूमिकामा आफूलाइ उभ्याउने छु।’
शर्माका परिवारै पूर्णकालीन माओवादी हुन् । उहाँका जेठा दाइ माओवादी जनयुद्धमा मारिएका थिए ।