गणेश अधिकारी, पोखरा ।
राष्ट्रिय जनमोर्चा कास्कीको आयोजनामा स्थानीय तहको चुनावी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै राजमोका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले आगामी स्थानीय निर्वाचनलाई प्रतिगमनविरुद्धको संघर्षकै रुपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अझै पनि प्रतिगमन खतरा रहेकोले प्रतिगामी शक्तिसँगै राष्ट्रघाती एमसीसी सम्झौता र संघीयता खारेजीको मुद्दा पार्टीको चुनावी नारा हुने जानकारी दिनुभयो ।
भेलामा नेकपा (मसाल) कास्की जिल्ला प्रवक्ता चन्द्रबहादुर केसीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका समिति, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका तथा लेखनाथ समितिका सदस्यहरु सहभागी थिए ।
कार्यक्रममा सहभागीहरुले आफ्नो पालिका र स्थानीय तहका वार्डको संगठनको अबस्थाको बारेमा रिपोर्टिङ र संगठनात्मक योजनाको खाका समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरको तर्फबाट हरि राना, लेखनाथबाट मदन मुरारी घिमिरे, रुपाबाट सोमनाथ अधिकारी र जीत बहादुर, अन्नपूर्णबाट चन्द्रबहादुर केसी र लक्ष्मी कुँवर, मादी गाउँपालिकाबाट ढाकाराम पौडेल र माछापुच्छ्रेबाट अर्जुन क्षेत्रीले रिपोर्टिङ गर्नुको साथै अन्य उपस्थित सदस्यहरुले पनि चुनावी छलफलमा आफ्नो आफ्नो राय राखेका थिए ।
चुनावी भेलालाई स्वागत जिल्ला उपाध्यक्ष टम बहादुर रोक्काले गर्नु भएको थियो भने सन्चालन अध्यक्ष रबिमोहन ढकालले गर्नु भएको थियो ।