काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार आगामी वैशाख ११ र १२ गते सम्बन्धित जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ।
यस्तै, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची वैशाख २१ गते साँझ ५ देखि ६ बजेसम्म प्रकाशित गर्ने कार्यक्रम तय गरेको छ। आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने मिति वैशाख १३ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मलाई तय गरेको छ।
दाबी विरोधपछि मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय वैशाख १४ र १५ हुनेछ भने सम्बन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट वैशाख १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका तय गरिएको छ।
आयोगले वैशाख १६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समयलाई उम्मेदवारको नाम फिर्ता लिने गरी तोकेको छ।
उम्मेदवारको मनोनयन फिर्ता भइसकेपछि बाँकी उम्मेदवारको अन्तिम नामावली वैशाख १६ गते ५ बजेदेखि ६ बजेसम्म प्रकाशित हुने भएका छन्।
त्यसपछि आयोगले वैशाख १७ गते १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम बनाएको छ।
आयोगका अनुसार वैशाख ३० गते निर्वाचनका क्रममा मतदान सुरु हुनु ४८ घण्टाअघि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ।
आयोगले सबै मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले बुझेपछि मात्रै मतगणना थाल्ने कार्यक्रम बनाएको छ।
वैशाख ३० गते देशभरका सबै स्थानीय तहहरुमा एकै चरणमा निर्वाचन हुँदैछ।