काठमाडौं । सरकारले यहि चैत महिनाभित्र मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने तयारी गरेको छ । करिब ५० करोड खर्चेर अस्थायी संरचना निर्माण गरी पानी ल्याउन लागिएको हो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
बुधबार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले यही महिनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं ल्याइपुर्याउने दाबी गर्नुभयो ।
जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौं पुर्याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन समेत दिनुभयो ।
मुहानस्थलको निरीक्षण गर्दै मन्त्री चौधरीले अहिले भइरहेको कामको गति चित्तबुझ्दो रहेको बताउनुभयो । काम निकै द्रुतरुपमा भइरहेको पाइएको बताउँदै उहाँले चैतको तेस्रो साता पानी काठमाडौं पुग्नेमा विश्वस्त रहेको जानकारी दिनुभयो ।