काठमाडौं । संसदबाट पास गरिएको विवादित अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै नेकपा (मसाल) निकट किसान संघसहित विभिन्न संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । बिहीबार किसान संगठनहरुले काठमाडौंको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ (अप्फा) का प्रतिनिधि एवम् नेकपा (मसाल) काठमाडौंका जिल्ला प्रवक्ता जगत प्रसाद रेग्मीले एमसीसी पास गरेर सरकारले असंलग्न परराष्ट्र नीतिको उल्लंघन गरेको बताउनुभयो ।

एमसीसी सम्झौतापछि नेपाल अमेरिकी क्याम्पमा प्रवेश गरेको कुरा रूस र युक्रेनबीचको युद्धमा नेपालले युक्रेनको पक्षमा निकालेको विज्ञप्तिले नै पुष्टि गरेको उहाँको भनाई थियो।
रेग्मीले कृषि भूमण्डलिकरणका कारण स्थानीय बीउ नस्ट भएको भन्दै बीउलाई हाइब्रिड गरेर पुनः उत्पादन गर्न नमिल्ने बनाएर कृषि मा साम्राज्यवादी नीति लागू गरेको बताउनुभयो । उहाँले जग्गालाई चक्ला बन्दी गरेर कृषिमा एकाधिकार कायम गरेर भूमाफियालाई जग्गा जिम्मा दिने र किसानलाई जमिनबाट विमुख बनाउने नीतिलाई परास्त गर्न जरुरी छ भन्नुभयो ।
कार्यक्रम अखिल नेपाल किसान महासंघका अध्यक्ष सिताराम तामाङ, नेकपा सम्बद्ध अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल किसान संघ २००७ का संयोजक राम प्रसाद लामिछाने, अखिल नेपाल किसान युनियनका इन्चार्ज रत्न जोशीले आ–आफ्नो विचार राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासंघका महासचिव धनेस्वर पोख्रेलले गर्नु भएको थियो ।