नवलपरासी । नवलपरासीमा नेकपा (मसाल) सम्बद्ध अखिल नेपाल किसान महासंघसहित विभिन्न दलनिकट किसान संगठनहरुले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् ।
बर्दघाट नगरपालिका जिमरिभामा बुधबार अखिल नेपाल किसान महासंघ, नेकपा विप्लव निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी र नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) तीन किसान संगठनले विरोध प्रदर्शन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ सम्बद्ध सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष उत्तमराज खरेलले संसदबाट जालझेल गरेर रातारात एमसीसी पास गरेपनि देशभक्त नेपाली जनताले सडकबाटै खारेज गरेर राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने बताउनुभयो ।
कार्यक्रमलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का रामचन्द्र पोख्रेल र अखिल नेपाल किसान संघ (क्रान्तिकारी) का गणेश पाठकले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका शोभाकान्त लामिछानेले गर्नुभएको थियो । कार्यक्रम विरोध सभामा परिणत हुनु अघि नाराजुलुससहित बजार परिक्रमा गरिएको थियो ।