काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले मंगलबार साँझसम्म २३ स्वर्ण, ७ रजत र ११ काँस्यसहित ४१ पदक जितेको छ ।
यस्तै, भारतले १० स्वर्ण, १२ रजत र ६ काँस्य पदकसहित २८ पदक जित्दा श्रीलंकाले ५ स्वर्ण, १३ रजत र २५ काँस्यसहित ४३ पदक जितेको छ ।
यसैगरी, पाकिस्तानले ४ स्वर्ण, ९ रजत र ८ काँस्यसहित २१ पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ३ रजत र २१ काँस्यसहित २८ पदक जितेको छ । मल्दिभ्सले १ स्वर्ण र भुटानले २ काँस्य जितेको छ ।
तेस्रो दिन नेपालले ८ स्वर्ण थपेको छ । दोस्रो दिन १५ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले मंगलबार त्यसलाई निरन्तरता दिँदै ८ स्वर्ण जितेको हो ।
उसुमा नेपालले २ स्वर्ण जितेको छ । विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जितेका हुन् । तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महरा तथा कराँतेमा नविन रसाइली र सनिता महर्जनले स्वर्ण जिते ।
एथ्लेटिक्समा नेपालले मंगलबार एक स्वर्ण जित्दा सन्तोषी श्रेष्ठले कीर्तिमान बनाइन् । महिला १० हजार मिटर दौडमा सन्तोषीले भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो खेलाडीसमेत बनिन् ।
एथ्लेटिक्सकै पुरुष १५ सय मिटर दौडमा टंक कार्कीले कास्य पदक जितेका छन् ।
मंगलबार नै नेपालले ट्रायथलनमा एक स्वर्ण र दुई रजत जित्यो । पोखरामा भइरहेको ट्रायथलन अन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जित्दा लक्ष्मण मल्लले रजत जिते । महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत जितिन् ।
भलिबलमा रजत
महिला भलिबलमा नेपालले रजत पदक जितेको छ । निकै प्रतिस्पर्धात्मक फाइनलमा नेपाल भारतसँग ३(२ सेटमा पराजित भयो । सेमिफाइनलमा श्रीलंकालाई हराउँदै पहिलो पटक साग महिला भलिबलमा फाइनल पुगे पनि नेपाल इतिहास बनाउन बाट भने चुक्यो । पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरामगन गर्दै लगातार दुई सेट जितेको थियो । तर त्यसपछि लगातार दुई सेटसँगै स्वर्ण गुमायो ।
यद्यपि नेपालले साग महिला भलिबलमा पहिलो पटक रजत पदक जित्न सफल भएको छ । यसअघि नेपालले तीन संस्करणमा कास्य जितेको थियो । पुरुष भलिबल टोलीले भने यस पटक पदक जित्ने लक्ष्य राखे पनि समूह चरणबाटै बाहिरिएको थियो ।
फुटबलमा विजयी सुरुवात
फुटबलतर्फ नेपालले विजयी शुरुवात गरेको छ। घरेलु टोली नेपालले पुरुष र महिला दुवैमा जित हात पारेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नेपालले करिब ५ वर्षपछि फुटबल खेल्दै पुनरागमन गर्दा शानदार नतिजा हात पार्यो । करिब ८ हजार दर्शकको अगाडि कप्तान सुजल श्रेष्ठले दुई गोल गर्दा नेपालले भुटानलाई ४–० ले पराजित गरेको हो । यस्तै मिक्छेन तामाङले पहिलो अन्तर्राष्ट्रिय गोल गरे। अर्को गोल अभिषेक रिजालले गरे ।
यस्तै पोखरामा भइरहेको महिला फुटबलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गर्दै सुखद सुरुवात गर्यो ।
क्रिकेटमा हार
क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भयो । पुरुषतर्फ श्रीलंका यू-२३ सँग पहिलो खेल खेलेको नेपाल ६ विकेटले पराजित भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरनेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले ५ बल अगावै ४ विकेट गुमाएर भेट्टायो ।
