काठमाडौँ । यातायत व्यवसायीले आगामी चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।
पेट्रोलियम पदार्थमा पटक पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको बताउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।
विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रु १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो । बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरूको भनाइ थियो ।
फागुन २९ गते पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिक रूपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गर्नुभयो । उहाँले चैत ७ गतेसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिनुभयो ।
व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणालीअनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९.०३, ट्रक (पहाड) को ११.८२ र ट्रक (तराई) को १३.१३ प्रतिशत लागत वृद्धि भएको छ ।
त्यस्तै, पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत ८.०५ प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएकोप्रति पनि ध्यानाकर्षण गराएका थिए ।
गत असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।