काठमाडौं । प्रतिनिधि सभामा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको हो ।
बैठकमा नेकपा९माओवादी केन्द्र०का प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेश गर्नुभएको हो । महाअभियोग प्रस्ताव पेश गर्दै प्रमुख सचेतक गुरुङले प्रधानन्यायाधीश जबराले संविधान, नियम, कानुन र न्यायिक मुल्यमान्यताको उल्लंघन गरेका कारण महाअभियोग प्रस्ताव ल्याउनु परेको बताउनुभयो ।
जबराले संवैधानिक परिषद् र कार्यपालिकामा भाग खोज्ने गरेको, कार्य क्षमताको अभाव भएको, न्यायिक आचरणको अभाव देखिएको र सर्वोच्च अदालतको नेतृत्व समेत गर्न नसक्ने भएकाले उहाँलाई पदमुक्त गर्नका लागि महाअभियोग प्रस्ताव पेश गरिएको प्रमुख सचेतक गुरुङले स्पष्ट पार्नुभयो ।
प्रधानन्यायाधीश जबरा विरुद्ध नेकपा९माओवादी केन्द्र०का प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र नेकपा९एकीकृत समाजवादी०का सचेतक जीवनराम श्रेष्ठको प्रस्तावमा ९५ जना सांसदहरुको समर्थनमा फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
प्रतिनिधि सभा बैठकमा महाअभियोग प्रस्ताव पेश भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव बारे प्रतिनिधि सभाको आगामी बैठकमा छलफल हुने जानकारी गराउनुभयो । प्रतिनिधि सभाको आइतवारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार
शाहले सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८ पनि पेश गर्नुभएको छ ।
प्रतिनिधि सभाको आगामी बैठक २०७८ चैत्र २ गते बुधवार दिनको १ बजे बोलाइएको छ ।