काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले उपनिर्वाचनमा विजयी उम्मद्वाहरुलाई बधाई दिएको छ ।वाम गठबन्धन बनाएर निर्वाचनमा जानुको परिणाम धेरै ठाउँमा गठबन्धनका उम्मेद्वार विजयी भएको भन्दै मसालले सन्तोष प्रकट गरेको छ ।
तर, प्युठानको ऐरावती गाउँपालिका वडा नं २ मा नेकपाको तर्फबाट सहमति उल्लंघन गरी वागी उम्मेद्वार खडा गरिएको र जिताउन पुरै शक्ति लागएको भन्दै त्यसको जिम्मेवारी नेकपाको केन्द्रीय नेतृत्वले नै लिनुपर्ने मसालले जनाएको छ ।
मंगलबार महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य प्रकासित गरी आफ्नो तर्फबाट सहमतिको इमान्दारितापूर्वका कार्यान्वयन गरेको भन्दै नेकपाले बाग्लुङको सन्दर्भमा सहमतिप्रति इमान्दारिता देखाएको तर, प्युठानमा उल्लंघन गरेको आरोप लगाएनुभएको छ ।
यस्तो छ वक्तव्य
“हालै भएको उपनिर्वाचनमा कास्कीबाट प्रतिनिधिसभामा निर्वाचित नेकपाकी उम्मेदवार विद्या भट्टराई तथा ४ नंं प्रदेशका लागि बाग्लुङको बुर्तिवाङबाट निर्वाचित राष्ट्रिय जनमोर्चाको उम्मेदवार खिमविक्रम शाही र ५ नं. प्रदेशका लागि दाङबाट निर्वाचित विमला वली समेतलाई नेकपा (मसाल)ले हार्दिक बधाई दिन्छ ।
उक्त उपनिर्वाचनमा बाग्लुङमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई र कास्की र दाङमा राष्ट्रिय जनमोर्चाले नेकपाका उम्मेदवारलाई समर्थन गर्ने समझदारी भएको थियो । त्यो समझदारीलाई राष्ट्रिय जनमोर्चा र नेकपा दुवैले आफ्नो प्रतिबद्धताअनुसार एक अर्कालाई इमान्दारिता पूर्वक समर्थन गरेकोमा नेकपा (मसाल)ले सन्तोष र प्रसन्नता प्रकट गर्दछ ।
राष्ट्रिय जनमोर्चा र नेकपाका बीचमा प्युठानको बरौलाको वडा अध्यक्षको पदमा नेकपाले राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई समर्थन गर्ने र अन्यत्र सबैतिर राष्ट्रिय जनमोर्चाले कुनै उम्मेदवार नउठाउने तथा सबैतिर नेकपाका उम्मेदवारहरूलाई समर्थन गर्ने पनि समझदारी भएको थियो । त्यसअनुसार राजमोले अन्यत्र कतैतिर आफ्नो उम्मेदवारहरू उठाएन वा स्वतन्त्ररूपले उठेका उम्मेदवारहरूलाई पनि फिर्ता गर्न लगाएको थियो । तर, प्यूठानको बरौलामा नेकपाले त्यो समझदारीको उल्लङ्घन गर्यो ।
बाग्लुङको बुर्तिवाङमा पनि राष्ट्रिय जनमोर्चाका उम्मेदवारका विरुद्ध नेकपाबाट बागी उम्मेदवार खडा भएका थिए । तर, केन्द्रले पहलकदमी गरेर ती उम्मेदवारलाई कानुनीरूपले फिर्ता नगरेपनि व्यवहारमा फिर्ता गर्न लगाइएको थियो । त्यहाँ नेकपाले आफ्नो पूरा शक्ति राजमोका उम्मेदवारलाई जिताउन लगाएको थियो । त्यस प्रकारको इमान्दारिता देखाएकोमा नेकपा (मसाल) नेकपालाई धन्यवाद दिन्छ ।
तर प्यूठानमा नेकपाले त्यही प्रकारले इमान्दारिता देखाएन । त्यहाँ पनि राजमोका उम्मेदवारका विरुद्ध नेकपाकातर्फबाट बाग्लुङमा जस्तै बागी उम्मेदवार उठेका थिए । तर, प्यूठानको नेकपाको जिल्ला कमिटीले उक्त बागी उम्मेदवारलाई जिताउन पूरा शक्ति लगायो । नेकपासित भएको समझदारीअनुसार नै राजमोले देशभरिका स्थानीयतहहरूमा आफ्नो कुनै उम्मेदवार उठाएको थिएन । स्वयं प्यूठानमा पनि प्यूठान नगरपालिकाको वडामा कुनै उम्मेदवार उठाएको थिएन भने दाङवाङको वडामा उठेको बागी उम्मेदवारलाई पनि फिर्ता गराएको थियो । तर, नेकपाले उक्त सझदारीलाई खुला प्रकारले उल्लङ्घन गर्यो । स्वयं नेकपाको केन्द्रीय नेतृत्वले पनि प्यूठानमा राजमोसित भएको सझदारीलाई कार्यान्वयन गर्न कुनै पहलकदमी गरेन ।
यहाँ यो उल्लेखनीय छ कि हाम्रो पार्टीले प्रतिनिधि सभा र प्रदेशसभाका चुनावहरूमा अन्य प्रतिक्रियावादी पार्टीहरूसँग कुनै चुनावी तालमेल नगर्ने, तर स्थानीय तहमा नेपाली काङ्ग्रेससित पनि तालमेल गर्ने नीति खुला राखेको छ । तर, नेकपासित केन्द्रीय तहमा भएको समझदारीअनुसार जहाँ जिल्ला तहमा नेपाली काङ्ग्रेससित तालमेलको सम्भावना थियो, त्यहाँ पनि हामीले उनीहरूसित तालमेलका लागि कुनै पहलकदमी गरेनौँ । त्यसरी नेकपासित केन्द्रीय तहमा भएको समझदारी प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा इमान्दारितापूर्वक लागू भएको छ भने स्थानीय तहमा हामीले उक्त सझदारीलाई इमान्दारितापूर्वक लागू गरेका छौँ ।
तर, नेकपाले त्यसलाई खुला प्रकारले नै उल्लङ्घन गरेको छ । त्यसका लागि प्यूठानको नेकपाको जिल्ला कमिटी मात्र नभएर केन्द्रीय नेतृत्व पनि जिम्मेवार छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसका लागि हामीले गम्भीर प्रकारको दुःख र क्षोभ प्रकट गर्दै नेकपाको केन्द्रीय नेतृत्वको पनि कडा शब्दमा आलोचना गर्दछौँ।”