काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा राजमो नवलपुरका अध्यक्ष दीपक पाण्डेले २०७८ फागुन २१ गते नवलपुरमा गरिएको भनिएको कथित जिल्ला भेलालाई अवैधानिक बताउनुभएको छ ।
राजमोका साधारण सदस्यसमेत नरहेकाहरूले आज राजमो नवलपुरको तेस्रो जिल्ला भेला गरेको दाबी गरेपछि उहाँले आजै यस्तो प्रतिक्रिया दिनुभएको हो ।
युगदर्शनसित प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– ‘यो भेला पूरै अवैधानिक छ ।’
‘जुन व्यक्तिहरू राष्ट्रिय जनमोर्चाको साधारण सदस्यसमेत छैनन्, उनीहरूले तेस्रो जिल्ला भेला गरेको दाबी गरिरहेका छन्’ उहाँले भन्नुभयो– ‘यो हद दर्जाको अराजनीतिक गतिविधि हो ।’
उहाँले राजमो नवलपुरको भेला गर्ने तत्काल कुनै कार्यक्रम नरहेको पनि जानकारी दिनुभयो ।
‘राजमो नवलपुरले जिल्ला भेला गर्ने कुनै निर्णय गरेको छैन’ उहाँले नवलपुरमा राजमो आधिकारिक समिति यथावत् रहेको बताउनुभयो ।
‘यो फुटपरस्त तत्त्वहरूको गतिविधि हो’ उहाँको थप भनाइ थियो– ‘उनीहरूले राजमोको झन्डा प्रयोग गर्नु पनि अवैधानिक छ ।’
उहाँले फुटपरस्त तत्त्वहरूको भ्रममा नपर्न पनि आग्रह गर्नुभयो ।