काठमाडौं । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ताका लागि देशको राष्ट्रियतामाथि नै सौदावाजी गरेको आरोप लगाउनु भएको छ ।
शुक्रबार काठमाडौंको खुला मञ्चमा ८ राजनीतिक दलद्वारा आयोजित एमसीसीविरुद्धको सभालाई सम्बोधन गर्दै नेता पुरीले एमसीसीविरुद्ध कार्यकर्ता सडकमा उतारेर नेतृत्वले आत्मसमर्पण गरेको बताउनु भयो।
‘राष्ट्रियताको रक्षा चर्का कुरा गरेर मात्रै हुँदैन। हामी राष्ट्रियताको आन्दोलनमा कति टिक्न सक्छौँ, हाम्रा खट्टा कति बलिया छन्, हाम्रा तिघ्रा कति बलिया छन्। मुख्य कुरा त्यो हो’ उहाँले भने, ‘प्रचण्ड र माधव नेपालहरुले बिना संशोधन एमसीसी पारित गर्न हुन्न भनेर केही दिन कराए। तर, सत्ता जोगाउनको लागि अन्तिममा राष्ट्रियतामाथि नै सौदावाजी गरे।’
नेता पुरीले संसदबाट पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणा आत्मरती मात्रै भएको आरोप पनि लगाउनु भयो।
उहाँले राष्ट्रियताको रक्षा वामपन्थीहरुले मात्रै गर्न सक्ने भन्दै एमाले, माओवादी, एकीकृत समाजवादीभित्रका राष्ट्रवादी नेता कार्यकर्तालाई ती समूह छोडेर राष्ट्रियताको लडाईंमा आउन आह्वान पनि गर्नुभयो।