काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सत्तारूढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एम.सी.सी. लाई निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भनिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा २०७८ फागुन १३ गते शुक्रबार बसेको माओवादीको उपलब्ध पूर्वस्थायी समिति सदस्यको अनौपचारिक बैठकले संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिइएको छ ।
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लगातार अवरोध गरिरहेको अवस्थामा महत्त्वपूर्ण विषयमा समेत छलफल हुन सकेको छैन । यस्तो अवस्थामा एम.सी.सी. का केही प्रावधानमा पार्टीको अझै पनि फरक मत रहे पनि राष्ट्रिय आवश्यकताले गठबन्धन कायम राख्नुपर्नेमा अधिकांश नेताहरूले जोड दिनुभएको थियो ।
माओवादीको तर्फबाट विगतमा प्रधानमन्त्री तथा मन्त्री भएका नेताहरू नै एम.सी.सी. सम्झौताको विभिन्न कालखण्डमा सहभागी भएकाले अन्तर्राष्ट्रिय विश्वसनीयताको प्रश्न पनि उठ्नेमा नेताहरू एकमत दखिएका छन् ।
शुक्रबारको बैठकमा समग्र कोणबाट छलफल भएको र प्रतिनिधि सभामा एम.सी.सी. पारित गर्ने सन्दर्भमा बहिष्कार गरेर वा अन्य कुनै विधिमार्फत् पारित गर्न सहयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
माओवादीका नेता हरिबोल गजुरेलका अनुसार एम.सी.सी. सम्झौताका केही प्रावधानमा पार्टीको असहमति रहे पनि त्यसलाई एउटा निष्कर्षमा पुर्याएर गठबन्धन कायम राख्नुपर्छ भन्नेमा मतैक्यता देखिएको छ ।
त्यस्तै, माओवादीका अर्का नेता शक्ति बस्नेतका अनुसार गठबन्धन कायम राख्दै अनेकन् विकल्पमा छलफल गर्ने र एउटा निकास निकाल्ने प्रयत्न गरिने छ । गठबन्धन जोगाउनै नसकिने अवस्था भयो भने अर्को कुरा भयो अन्यथा यसलाई कायम राखेर अनेकन विकल्पमा छलफल गर्ने र एम.सी.सी. सम्झौतालाई पनि एउटा निकास दिनुपर्छ भन्नेमा माओवादीका नेताहरू एक मत देखिएका छन् ।
धनगढी पुग्नुभएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डले काठमाडौँ फर्कन फोन गर्नुभएको थियो । काठमाडौँ फर्किएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गर्नुभएको छ ।
सत्तारूढ गठबन्धनका नेताहरूको अनौपचारिक बैठकले गठबन्धन कायम राख्दै निष्कर्ष निकाल्नुपर्नेमा सहमत भएका छन् । एम.सी.सी. सम्झौता पारित गर्ने वा नगर्ने भन्नेमा सत्तारूढ दलबिचमा नै साझा धारणा बन्न नसक्दा विषय सडकमा समेत पुगेको छ । दैनिकजसो प्रदर्शन भइरहेका छन् । संसद्मा प्रतिपक्षले अवरोध जारी राख्ने, सत्तारूढ दलका बिचमा पनि समान धारणा नबन्दा महत्त्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन ।
सहमति खोज्ने ध्येयका साथ आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक आइतबारसम्म स्थगित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर शुक्रबारको बैठक स्थगित गरिदिन आग्रह गर्नुभएको थियो । मन्त्री बडुको आग्रहमा नै बुधबार १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्ने छ ।
एम.सी.सी. सम्झौताका पक्षमा सहमति जुटाउनका लागि बिहिबार प्रमुख राजनीतिक दलका विभिन्न बैठक भए । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको थियो । सो बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलगायतका नेताहरूबिच पनि छलफल भएको थियो । साँझ पुनः प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल भए पनि कुनै ठोस सहमति बन्न सकेको थिएन ।
यो अवस्थामा सत्तारूढ दलहरूबिच नै सहमति कायम गरेर जानुपर्ने विषयमा नै धेरैको जोड देखिएको छ । यसैका लागि पनि आजको संसद् बैठक स्थगित भएको सत्तारूढ दलका नेताहरूले बताएका छन् । (रासस)