जगदीश ढकाल, नेपालगञ्ज ।
राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव एवम् पूर्वसांसद हरि आचार्यले देशलाई पराधिनतामा धकेल्ने दुस्प्रयास नगर्न शासकहरुलाई चेतावनी दिनुभएको छ ।
८ दलले बिहीबार बाँकेमा एमसीसी विरुद्ध आयोजना गरेको जनप्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रममा बोल्दै नेता आचार्यले इतिहासमा कहिल्यै पराधिन नभएको वीरहरुको देशलाई साम्राज्यवादको पोल्टामा नपार्न चेतावनी दिनुभएको हो ।
नेकपा (मसाल) का तर्फबाट सम्बोधन गरेका आचार्यले वीरहरुले बचाएर राखेको नेपाललाई अहिलेका शासकहरुले सार्वभौकिमता खत्तम पार्न लागेको आरोप लगाउनुभयो ।
‘एमसीसी नेपाललाई गरिने सहयोग मात्रै नभै इन्डोप्यासिफिक सैन्य रणनीति अन्तरगत भएको कुरा स्वयं अमेरिकी अधिकारीहरुले नै पहिले बताएका छन्’ उहाँले भन्नुभयो, ‘यो सझौता नेपालको राष्ट्रियताको लागि अत्यन्त घातक रहेकोेले नेपाली जनताको आन्दोलनले परास्त गरिछाड्ने छन् ।’
जिल्लाका विभिन्न स्थानबाट नेपालगन्ज आइपुगेका जनमानसले एमसीसी विरुद्ध नाराबाजीका साथ जुलुसले नगर परिक्रमा गरेपछि बाँके जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना तथा विरोध सभाको आयोजना गरिएको हो ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार मोमिना खातुनले नेपाली जनता साम्राज्यवादीको गुलाम नबन्ने बरु राष्ट्रियताको लागि बलिदान दिन पछि नपर्ने बताउनुभयो ।
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज दिपकले छिमेकीको सहयोगले घर नबन्ने बरु आफ्नै पौरखले देश बन्ने उदाहरण दिँदै सरकारले संसदमा प्रस्तुत गरेको एमसीसी सझौता खारेज नहुँदासम्म आन्दोलन जारी रहने बताउनु भएको थियो ।
नेकपा (माओवादी समाजबादी) का महासचिव नरेश शाहीले साम्राज्यवादीहरुको चङ्गुलबाट देशलाई बचाउन आन्दोलनको आँधिबेहरी सृजना हुने र दलालहरुको सपना पूरा नहुने बताउनु भयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य लक्ष्मी चौलागाईंले राष्ट्रप्रति माया र गौरव गर्ने सम्पूर्ण नेपालीहरु एमसीसी विरुद्ध संघर्षमा आउने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव सुरेश वलि, नेकपा (वैज्ञानिक समाजवादी) का जिल्ला संयोजक मेघराज सुनार लगाएतका वक्ताहरुले उक्त विरोध सभामा विचार राख्नु भएको थियोे ।
विरोध सभाको सञ्चालन नेकपाका जिल्ला सेक्रेटरी अनिलले गर्नुभएको थियोे ।