काठमाडौँ । सोमबार देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।
महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाएको छ ।
बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले यसबाट जोगिन र पहाडी भूभागको केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाको पछिल्लो सूचनाअनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै, सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २५ दशमलव चार डिग्री सेल्सियस छ ।