वशन्त खड्का, सन्धिखर्क ।
एम.सी.सी. राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध छ कम्युनिस्ट पार्टी र दुईओटा मोर्चाले २०७८ फागुन ८ गते अर्घाखाँचीस्थित जिल्ला प्रशासन कार्यालयमा घेराउ गरेको छ ।
सरकारले एम.सी.सी. संसद्मा टेबल गर्न लागेपछि यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यक्रमअन्तर्गत अर्घाखाँची जिल्ला प्रशासन कार्यालय घेराउ र कोणसभा सम्पन्न गरिएको हो ।
घेराउ कार्यक्रमसँगै आयोजित कोणसभालाई संयुक्त सङ्घर्षमा सम्बद्ध नेताहरुले एम.सी.सी. संसद्मा छिर्नै दिन नहुने भन्दै त्यसका विरुद्ध खारेजीको अभियान चलाउन माग गरेका छन् ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले एम.सी.सी. राष्ट्रघाती सम्झौता भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताउँदै एम.सी.सी. नेपाली जनतामाथि नेपालका सत्ताधारी राजनीतिक दलले अस्तित्व नै समाप्त पार्ने गरी ल्याएको राष्ट्रघाती सम्झौता भएकाले यसका विरुद्ध क्रान्तिकारी जनताले सङ्घर्ष गनुपर्ने बताए ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बाबुराम पन्थी सुनारले गर्नुभएको थियो ।
कार्यक्रमको आयोजना नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले गरेका थिए ।
