बागलुङ बजार । एम.सी.सी. विरुद्ध फागुन ८ गते बागलुङ बजारमासम्पन्न भएको छ ।
नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा विप्लब पक्ष, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चालगायतका राजनैतिक दल र मोर्चाहरूले सो कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रमपूर्व जुलुसले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यलय बागलुङमा पुगी विरोधसभामा परिनत भएको थियो ।
सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले हाम्रो जस्तो असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने देशले एम.सी.सी. जस्तो परियोजना कुनै पनि हालतमा स्वीकार्य नरहेको बताउनुभएको थियो ।
विप्लब नेतृत्वको नेकपा बागलुङका सदस्य महेन्द्र विकले एम.सी.सी. ले देशमा एउटा विद्रोहको स्थिति सृजना गर्ने हुनाले यसलाई खारेज गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै, नेकपा (क्रान्तिकारी माओवादी) को तर्फदेखि सम्बोधन गर्दै पूर्णबहादुर गुरुङले यदि नेपाली जनताको विरुद्ध अहित हुने यो सम्झौता लागु गरे उक्त पार्टी र पार्टीका नेतालाई बागलुङ बासी जनताले गाउँ छिर्नसमेत नदिने चेतावनी दिनुभयो ।
नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजाले देशभन्दा गठबन्धन कुनै पनि हालतमा ठुलो हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वनले गर्नुभएको थियो ।