काठमाडौँ । राष्ट्रिय जनमोर्चाको असहमतिमाझ चार दल एम.सी.सी. संसद्मा टेबुल गर्ने सहमति कायम भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २०७८ फागुन ८ गते बसेको गठबन्धनको बैठकमा एम.सी.सी. बारे सहमति भएको हो ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो– ‘गठबन्धनमा सहमति भएको छ, अब एम.सी.सी. टेबल हुन्छ ।’
चार दलको गठबन्धनमा सहमति भएपछि आजै संसद् बैठकमा एम.सी.सी. अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबुल गर्ने केही सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
यता, सत्ता गठबन्धनको एउटा पार्टी नेकपा (माओवादी केन्द्र) तत्काल सरकारबाट नबाहिरिने भएको छ । एम.सी.सी. टेबल भएपछि प्रक्रिया पूरा गरेर भोटिङमा जान समय लाग्न भएकाले त्यतिबेलासम्म माओवादी सरकारमै रहने छ । तर भोटिङको बेला भने माओवादीले विपक्षमा मतदान गर्ने तयारी गरेको छ ।
झलनाथको खनालको आपत्ति
यता, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद् बैठकमा एम.सी.सी. टेबुल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति असहमति प्रकट गर्नुभएको छ ।
उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद्मा टेबुल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरूले स्वीकार गर्न नसक्ने बताउनुभयो ।
‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छाघरमा ? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ ?’ खनालले एउटा अनलाइनसँग भन्नुभयो– ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौँ । यस्ता खालका सहमति न संसद्मा लानुपर्ने आवश्यक छ, न संसद् खुल्ला छ ? यस्तो बेला टेबुल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’