मलङ्गवा । जिल्ला प्रशासन कार्यालय सर्लाहीले इपासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ ।
राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इपासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन सेवाग्राहीलाई इपासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।
इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आआफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेस भएको १५ दिनभित्र सेवाग्राहीलाई इपासपोर्ट वितरण उपलब्ध गराइने उहाँले बताउनुभयो ।
लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागु गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इपासपोर्ट प्रयोगमा ल्याएको छ । विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समावेश हुने कार्यालयले जनाएको छ ।
एमआरपीका तुलनामा इपासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ । जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ ।