बुटवल । बुटवल उपमहानगरपालिका नं. १ मा रहेको ऐतिहासिक जितगढी किल्लामा नेपाल–अङ्ग्रेज युद्धका विजेता तत्कालीन नेपाली वीर योद्धा कर्णेल उजिरसिंहको सालिक निर्माण गरिएको छ ।
ऐतिहासिक पुरातात्विक सम्पदास्थल परिसरमा कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक यसअघि नै निर्माण गरिएको थियो । सोही सालिकनजिकै लहरै पारेर कर्णेल उजिरसिंहको नेतृत्वमा अङ्ग्रेजसँग युद्ध लडेका १३ सेनाका अर्धकदका सालिक निर्माण गरिएको हो ।
त्यस क्षेत्रमा करिब तीन बिगाह जग्गामा विभिन्न गुरुयोजना बनाएर संरक्षण, सम्बद्र्धन र विस्तारका काम गरिएको छ । गुरुयोजनाअनुसार काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर रानामगर, सरदार सुर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर बोहरा, हवल्दार रणशुर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ र जुठे बस्नेतको सालिक निर्माण गरिएको छ ।
सो स्थानमा प्रवेशका लागि किल्लाको झल्को दिने गरी आकर्षक प्रवेशद्वारसमेत निर्माण गरिएको छ । परिसरमा हरियालीसहितको फूलबारी उद्यान र झिलमिली लाइटिङ र राष्ट्र धुनसहितको पानीका फोहोरा निर्माण गरिएको छ । जितगढीमा निर्माण गरिएका यी संरचनाको एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्कर्माले २०७८ फागुन ४ गते सालिक अनावरण र संरचनाको उद्घाटन गर्नुभयो ।
त्यस क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढी विजयोत्सव दिवसको मिति यकिन गर्नुका साथै गुरुयोजना बनाएर संरक्षण, प्रवद्र्धन र विस्तारका काम गरिएको बताउनुभयो । सहकार्य गर्ने नेपाली सेना, स्थानीय जनप्रतिनिधि, समुदाय, इतिहासविद्लगायतलाई धन्यवाद गर्नुभयो ।
जनप्रतिनिधि आएपछि ऐतिहासिक सम्पदास्थलको संरक्षण, सम्वद्र्धन र विस्तार भएपछि जितगढीको कायापलट भएको संरक्षणकर्मी तथा अभियानकर्मी रवीन्द्रगोपाल लाकौलले खुसी प्रकट गर्नुभयो । जितगढीमा फहराएको राष्ट्रिय झन्डाले स्वाभिमान र वीरताको गाथा झल्काइरहेको उहाँको भनाइ थियो ।